विमानस्थलबाटै ५ करोड डलर बराबरको हिरा लुटियो (हेर्नुस् भिडियो तथा समाचार)

एजेन्सी, फाल्गुन ९ । बेल्जियमको राजधानी ब्रसेल्सस्थित विमानस्थलबाट अर्बौं रुपैयाँको हिरा लूटिएको छ । बेल्जियमको एन्टवर्पबाट स्वीट्जरल्याण्ड पठाउन लागिएको हिरा केही लुटेराले विमानस्थलबाटै लुटेका हुन् । लुटिएको हिरा करिब ३६ अर्ब रुपैयाँ बराबरको रहेको बुझिएको छ । हवाई जहाजमा हिरा राख्न गएका सुरक्षाकर्मीको पछि लागेका लुटेराहरुले हिरा भरिएको ब्रिफकेश लिएर भागेको विमानस्थलका अधिकारीले जनाएका छन् । हतियारले सुसञ्जित उनीहरुले मुख छोपेका थिए । डकैतीको घटना लगत्तै विमानस्थल नजिक जलेको अवस्थामा रहेको एउटा गाडी बरामदगरी अनुसन्धान थालिएको र लुटेराको खोजी भइरहेको प्रहरीलेले जनाएको छ । लुटपाटमा ८ जना संलग्न रहेको बताइएको छ । बेल्जियमको एन्टवर्प संसारकै सबैभन्दा बढी हिराको कारोबार हुने ठाउँ हो ।