वागमती नदीमा फोहोर फाले १ लाख जरिवाना र ३ महिना कैद

२१ माघ, काठमाण्डौं । वाग्मती नदीमा फोहोर फाल्नेले अब १ लाख रुपैयाँ जरिवानासहित फौजदारी अभियोगमा ३ महिना कैद सजाय भोग्नुपर्ने भएको छ । ‘वागमती सरसफाइ तथा संरक्षण अभियान’ मार्फत फोहोरमैला व्यवस्थापन ऐन आकषिर्त गरी कारबाही गर्ने तयारी थालेको हो ।

अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति र फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले फोहोर उत्पादन गर्नेलाई नै व्यवस्थापन गर्न ऐनले सघाउने जनाएका छन् । यसअघि ऐन कडाइका साथ कार्यान्वयन भएको थिएन । ऐनअनुसार फोहोर व्यवस्थापन नगरे सजाय पाएपछि पनि पटक-पटक लापरबाही गरी फोहोर फ्याँके दोब्बर सजाय हुनसक्छ । ‘पशुपति मन्दिरभन्दा माथि लगभग ढलरहित वाग्मती भइसक्यो, तर फोहोर फाल्ने क्रम नरोकिँदा समस्या जस्ताको तस्तै भयो,’ समितिका अध्यक्ष महेशबहादुर बस्नेतले भने, ‘अब भने फोहोर फाल्नेलाई समातेर कानुनी कारबाही नै गर्ने तयारी हो, यसका लागि फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले हामीलाई सघाउनेछ ।

’ प्लास्टिकको थैलोमा फोहोर फाल्नेलाई हतोत्साहित गरेपछि ठूलो परिमाणमा फोहोर फाल्नेलाई कानुनी कारबाही गर्ने अभियानको प्राथमिक लक्ष्य रहेको अधिकारीहरूले बताए कान्तिपुरमा खबर छ। वागमतीको उद्गम थलो मानिने बाघद्वारबाट सुरु हुने अभियान उपत्यकाको अन्तिम विन्दु चोभारमुनिको कटुवालदहमा पुगेर टुंगिनेछ । सरसफाइ र सचेतनात्मक एवं जागरणजस्ता प्रचारात्मक कार्यक्रम भन्दा पनि प्रदूषण गर्नेलाई कानुनी कारबाही हुने गरी सुरु हुने अभियान प्रभावकारी हुने समितिले जनाएको छ । यसअघि केन्द्रले स्वास्थ्य क्षेत्रको फोहोर व्यवस्थापनमा अस्पताल व्यवस्थापन उदासीन बनेपछि प्रधानमन्त्री कार्यालयबाटै कारबाहीको चेतावनी दिएको थियो । यसपालि पनि वाग्मतीमा फोहोर मिसाउनेलाई सोही शैलीको कारबाही गरी अभियान थाल्ने केन्द्रको योजना छ ।

‘प्रदूषण गर्नेलाई कडा कारबाही गर्ने अभियान सञ्चालन गरी राष्ट्रियस्तरबाटै वाग्मती बचाउ अभियान थाल्ने लक्ष्य हो,’ कार्ययोजनाको सारांशमा भनिएको छ, ‘उपत्यकावासीको आचरण परिवर्तन गरी वाग्मती संरक्षणको नीति, नियम लागू गर्न तथा वाग्मती र शाखा नदीलाई फोहोरमैला र ढलबाट मुक्त गर्न यो अभियान जरुरी छ ।’ जतिसुकै सरसफाइ र सचेतना तथा प्रचारप्रसार अभियान थालेपनि वाग्मतीको फोहोर नघटेको भन्दै सरोकारवाला निकायहरूले फोहोर गर्नेलाई पक्राउ गरी कारबाही थाल्ने र फोहोर उत्पादन गर्नेलाई नै व्यवस्थापनको जिम्मासमेत लगाउने गरी नयाँ साझेदार निकायहरू नयाँ रणनीतिमा जुटेका हुन् । वाग्मती र यसका आधा दर्जनभन्दा बढी सहायक नदीको सरसफाइ तथा संरक्षणका लागि वषौर्ंदेखि अभियान सञ्चालन भइरहेको छ । तीन वर्षअघि सरकारबाट स्वीकृत भइसकेको पञ्चवर्षीय वाग्मती सफाइ कार्ययोजना बनिसकेको छ, तर हालसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।

विभिन्न सरकारी एवं दर्जनौं गैरसरकारी संघ/संस्थाले करोडौं रकम खर्चंदासमेत नगण्य प्रतिफल आएपछि सरोकारवालाहरूले फोहोर नै हुन नदिने अभियान सुरु गर्न लागेका हुन् । शिवपुरीको बाघद्वारबाट उत्पत्ति भएको १ सय ९६ किलोमिटर लामो वाग्मतीमा उपत्यका भित्र र बाहिर गरी करिब दुई दर्जन साना-ठूला नदी मिसिन्छन् । करिब ३ हजार ७ सय १० वर्ग किलोमिटर फैलिएको वाग्मतीको ठूलो हिस्सा उपत्यकाको खानेपानी आपूर्तिमा प्रयोग भइरहेको छ भने सुन्दरीजल तलपट्टकिो भाग फोहोरका कारण प्रदूषित छ ।