स्थानीयको विरोधले फिर्ता भयो ६० करोडको ल्यान्डफिल्ड परियोजना

२१ माघ, विराटनगर । स्थानीयको विरोधका कारण फिनल्यान्ड सरकारको सहयोगमा निर्माण हुने भनिएको क्षेत्रीय स्तरको ल्यान्डफिल्डसाइट परियोजना फिर्ता भएको छ । स्थानीय आदिवासी जनजातिले आफ्नो स्वीकृतिबिना नै ल्यान्डफिल्डसाइट निर्माण गर्न लागेको भन्दै चर्को विरोध गरेका थिए ।

औपचारिक रुपमा गत शुक्रबार परियोजना फिर्ता भएको हो । नेपाल सरकारको १५ करोड र फिनल्यान्ड सरकारको ४५ करोड रुपैयाँ गरी ६० करोडको लागतमा मोरङको डंग्राहामा निर्माण हुने भनिएको ल्यान्डफिल्डसाइटको स्थानीयले विरोध गरेपछि वातावरणीय प्रभाव मूल्यांकनसमेत हुन पाएन् ।

ल्याण्डफिल्डसाइट निर्माण गर्न परियोजनाको विराटनगर ४ स्थित पोखरियामा अढाई बर्षअगाडि कार्यालय खोलिएको खबर नयाँ पत्रिकाले छापेको छ । परियोजना कार्यालयका सञ्चार अधिकृत भुवन अधिकारीले १८ माघदेखि परियोजना पूर्णरुपमा फिर्ता भएको बताएका छन् । परियोजना फिर्ता भएपछि सवै कर्मचारी बेरोजगार भएको उनले बताए ।