एक महिनामा ३७ हजार नेपाली बिदेशिए!

काठमाडौ, ९ फागुन । वैदेशिक रोजगारीका लागि माघमा साढे ३७ हजार बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा रोजगारीका लागि ३७ हजार चार सय ८१ जना बिदेसिएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ४० दशमलव ८२ प्रतिशत बढी हो ।



विभागका अनुसार गत आवको माघमा २६ हजार ६ सय १६ जना रोजगारीका लागि बिदेसिएका थिए । यस वर्षको माघमा ३५ हजार तीन जना पुरुष र दुई हजार चार सय ७८ जना महिला रोजगारीका लागि विदेश गएका छन् । यो संख्यासहित चालु आवमा रोजगारीका लागि बिदेसिनेको संख्या दुई लाख ३७ हजार ६ सय ८६ जना पुगेको छ ।

विभागका अनुसार माघमा सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । सो महिना १० हजार चार सय १९ पुरुष ५ सय ६९ महिला गरी १० हजार नौ सय ८८ जना रोजगारीका लागि मलेसिया गए । यस्तै, सात हजार ६ सय ४५ जना कतार, सात हजार पाँच सय ६२ साउदी र पाँच हजार ६७ जना युएई गएको विभागले जनाएको छ ।



यस्तै, चालु आवमा पनि नेपाली कामदारको मुख्य गन्तव्य मलेसिया नै बनेको छ । विभागका अनुसार चालु आवको माघ मसान्तसम्म मलेसिया जानेको संख्या ८८ हजार नौ सय ८० जना पुगेको छ । यो अवधिमा साउदी अरब दोस्रो स्थानमा आएको छ । साउदीमा चालु आवको माघसम्म ४८ हजार ६ जना कामदार रोजगारीका लागि गएका छन । त्यस्तै, नेपाली कामदारको तेस्रो श्रमगन्त्व्य कतारमा यो अवधिसम्म ४० हजार सात सय ८५ र युएईमा २८ हजार सात सय २४ जना कामदार रोजगारीका लागि गएको विभागले जनाएको छ ।



विभागका अनुसार माघमा वैधानीकरण भएर बिदेसिने कामदारको संख्या तीन हजार सात सय २० जना छ भने व्यक्तिगत श्रम स्वीकृतिमा एक हजार ६ सय ५८ जना बिदेसिएका छन् ।



यस्तै, रोजगारीकै क्रममा घर बिदामा आए पुन: रोजगारीमा जानेको संख्या पनि माघमा १४ हजार ३५ जना छ । यो संख्यासहित चालु आवको माघ सम्ममा पुन: श्रमस्वीकृति लिएर बिदेसिनेको संख्या ९१ हजार आठ सय ५६ जना पुगेको छ ।

सरकारले नयाँश्रम स्वीकृतिमा गएका कामदारको मात्र तथ्यांक राख्दै आएकोमा चालु आबदेखि भने पुन: श्रमस्वीकृतिमा जानेको पनि तथ्यांक राख्न सुरु गरेको हो । यसले घर बिदामा आई पुन: जान कामदारको आधिकारिक तथ्यांक राख्न सहज भएको विभाले जनाउँदै आएको छ ।