आफ्नै पतिले बलात्कार गरेको भन्दै पत्निद्वारा उजुरी दर्ता

माघ २६ – धादिङको दक्षिणपूर्वी केवलपुर गाविस–२ की एक ४० वर्षीया महिलाले आफूमाथि आफ्नै पतिले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जोहरी दर्ता गराएकी छन् ।


आफ्नै पतिले लगातार आफ्नो इच्छाविपरीत बलात्कार गरिरहेकाले आफूले कुनै उपाय नलागेपछि कारबाहीका लागि प्रहरीमा आएको पीडितले बताएकी छन् । विवाह गरेको २५ वर्ष भइसक्दा करिब १५ वर्षअघिदेखि आफूमाथि यौनहिंसा हुने गरेको र कुटपिटका कारण आफू धेरैजसो बिरामी भइरहेको पीडितको भनाइ छ । श्रीमान् रक्सी खाएर घरमा आउने र उनले जतिबेला पनि आफूलाई यौनसम्पर्क गर्न बाध्य पार्ने गरेको बताउँदै पीडितले सार्वजनिक बेइज्जत हुनेगरी समेत आफूलाई यौनदुव्र्यवहार गरिरहेको पीडितले प्रहरीलाई बताएकी समाचार संस्था राससले उल्लेख गरेको छ ।

कहिलेकाहीँ त बिहान खाना बनाउँदै गरेको बेला भान्सामै बलात्कार गर्ने र नमानेमा जे पायो त्यहीले हिर्काउने गरेकाले आफूले आफ्नै पतिविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको उनले बताएकी छन् ।

पीडकले यसअघि पनि पत्नीलाई पटक पटक बलात्कार गर्ने गरेको र कुटपिट गरी पटक पटक घाइते भएर अस्पताल जानुपरेको थियो । पीडकले यही माघ २३ गते पछिल्लो पटक बलात्कार गरेको र २४ गते बलात्कार गर्न लाग्दा भाग्दा पीडित महिला घाइते भएकी थिइन् ।

घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि स्थानीय प्रहरीले पीडकलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । पीडितले बिहीबार उक्त जाहेरी दर्ता गरेपछि जिल्लामा पहिलो पटक वैवाहिक बलात्कारसम्बन्धी जाहेरी परेको प्रहरीले जनाएको छ ।