अझै छ ‘श्री ३’ का नाममा घरजग्गा !

२१ माघ, बुटवल । देशबाट हुकुमी राणाशासन अन्त्य भएको ६२ बर्ष बितिसक्दा पनि रुपन्देहीको बुटवल नगरपालिका ३ मस्जिद टोलमा भने श्री ३ बडामहारानीको नाममा घर जग्गा भेटिएको छ ।

जग्गाधनी पुर्जामा ‘श्री ३ बडामहारानी’ भनी पदवी मात्र लेखिएको, बडामहारानीको नामथर वतन नखुलाईएको दुई कठ्ठा १० धुर जग्गा र त्यसमा बनेको घरसमेत आफ्नो नाममा बनाउन अहिले बुटवल नगरपालिका कार्यालय र सो घरजग्गा रक्षक बुटवलका दुर्गामान सैंजूबीच तानातान चलिरहेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

यस विषयमा जिल्ला मालपोत कार्यालय भने अन्यौलमा परेको छ । बुटवल नपामा बिटौरी (नगरपालिकाले धनीपुर्जा दिई तिरो बुझिरहेको र मालपोतले धनीपुर्जा दिने प्रक्रियामा भएको जग्गालाई बिटौरी भनिन्छ ।) कित्ता नम्बर ८३ भएको सो जग्गा २०६० सालमा नयाँ नापनक्सा बनाई जिल्ला नापी कार्यालयले कित्ता नम्बर ४५ कायम गरेको छ ।