हिंसाबाट बच्न महिलाहरुलाई ‘टिप्स’ 'केटा साथीसँग घुम्न जाँदा पनि थाहा दिनुस्'

पुस, काठमाडौं । ‘थुक्क पापी बजिया, त्यति सानी बालिकालाई पनि……..’, ‘फेरि पनि बलात्कार भयो रे उफ्…….’, ‘हैन हाम्रो समाज के हुन लाग्यो, सबै दानव छन् कि क्या हो……’, ‘पहिले पनि हुन्थ्यो, अहिले चर्चा बढेको मात्रै हो….’……..। हिजोआज दुईजना भेट हुनेबित्तिकै यस्तै चर्चा र बहस हुन थालेको छ ।

हुन पनि केही दिनदेखि महिलामाथि हिंसाका घटना हृवात्तै बढेका छन् । हिंसाका घटना बढ्न थालेपछि अधिकारकर्मी र नागरिक समाजले राजधानीसहित देशभरका शहरमा धर्ना र प्रदर्शन गरिरहेका छन् । तर, हिंसा नियन्त्रण हुनुको सट्टा झन् बढिरहेको छ । हालका केही दिनमा मात्रै भएका महिला हिंसाका घटना यस्ता छन् ः · बिहीबार राति बारामा ६ वर्षीया बालिकामाथि बलात्कार । · बुधबार साँझ झापामा १९ वर्षीया एक युवतीमाथि सामुहिक बलात्कार । · बुधबार मोरङको उर्लाबारीमा झारफुक गर्ने भन्दै एक झाँक्रीले एक युवतीमाथि दुव्र्यवहार । · बुधबार नै मोरङको पथरीमा पाँच वर्षीया बालिकामाथि यौन दुव्र्यवहार । · बुधबार गोरखा छोप्राकमा एक महिलामाथि बलात्कारको प्रयास । · बुधबार साँझ काठमाडौं थानकोटमा आठ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार । · बुधबार नुवाकोट घर भै काठमाडौं नक्साल बस्ने १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार । · एक हप्ताअघि दैलेखका कमारो सार्कीले आफ्नी श्रीमतीले यौनसम्पर्क राख्न नदिएको निहुँमा गुप्तांगमा अगुल्टो झोसेर घाइते । · भोजपुरकी एक महिलालाई अध्यागमनका कर्मचारीद्वारा बलात्कार । · दुई हप्ताअघि बारा प्रस्कोटा गाउँकी १८ वर्षीया बिन्दू ठाकुरलाई उनकै बाबुले हत्या गरेको पुष्टि । छोरीले आफूभन्दा गरिब र तल्लो जातसँग प्रेम गर्न थालेको थाहा पाएका बाबुले हत्या गरेका । · बर्दिया गुलरियाकी १९ वषर्ीया शिवा हासमीलाई पनि प्रेम गरेकै निहुँमा परिवारले हत्या गरेको खुलासा । · मंसिर ३० गते काठमाडौंको अनामनगरस्थित कृष्ण प्रसाईंको घरमा घरेलु कामदारका रुपमा कार्यरत ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी घरको माथ्लो तलामा मृत अवस्थामा फेला । घटनामा घर मालिककै संलग्नता रहेको आशंका । माथिका यी घटना हालसालैका ताजा हुन् । महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलेको अवधिमा समेत देशका धेरै ठाउँमा यस्तैखाले दर्जनौं घटना भएका महिला अधिकारकर्मीहरुको भनाई छ । महिलामाथि हुने हिंसामध्ये बलात्कार र यौन दुव्र्यवहारका घटना धेरै छन् । तथ्याँक अनुसार पाँच वर्षअघि देशभरमा दुईसयजति बलात्कारका घटना सार्वजनिक भएका थिए । यो वर्ष ५ सय ७५ पुगेको छ । सार्वजनिक नभएका घटना योभन्दा दोब्बर हुन सक्ने अनुमान छ । घटना बढेको कि चर्चा बढेको ? हिजोआज दिनहुँजसो सञ्चारमाध्यममा महिलामाथि हिंसा भएका खबर सार्वजनिक भैरहेका छन् । खबर सुन्दा, हेर्दा र पढ्दा लाग्छ-पहिलेभन्दा हिंसा बढ्यो । तर अधिकारकर्मीहरुको भनाई समाजमा पहिलेदेखि नै हिंसाका घटना हुँदै आएका छन्, अहिले सार्वजनिक हुने क्रम मात्र बढेको हो । ‘पहिले पनि यस्ता घटना हुन्थे र भैरहेका छन्, अहिले सचेतना र सञ्चारमाध्यमका कारण बढी चर्चा हुने गरेको हो’ अधिकारकर्मी लक्ष्मी पोखरेलले अनलाइनखबरसँग भन्नुभयो । तर, जतिसुकै सचेतना र जागरण भए पनि हिंसाका घटना भने कम हुन नसकेको उहाँको भनाइ छ । सामाजिक संरचना र त्यसले निर्माण गरेको मनोविज्ञानका कारण हिंसाका घटना बढिरहेको अधिकारर्मीहरु बताउँछन् । घटनाका दोषीलाई कार्वाही हुन नसक्नु पनि घटना बढ्नुको मुख्य कारण हो । यस्तै पीडितले उचित न्याय र क्षतिपूर्ति नपाउँदा पनि अवस्था गम्भीर बन्दै गएको छ । ‘हिंसा पीडित महिलाको सुरक्षा र पुनस्र्थापनामा विषयमा विद्यमान ऐन मौन छ’ राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीले भन्नुभयो । पीडितका लागि बनाइएका सरकारी पुनःस्थापना केन्द्रहरु व्यवस्थित नभएको र सामान्य सुविधा भएका केन्द्रमा वास्तविक पीडितको पहुँच पुग्न नसकेको उहाँले बताउनुभयो । हिंसा नियन्त्रणमा सरकारी निकायको उदासिनताले घटना बढाउन त मद्दत गरेको छ नै । मानिसको मानसिक समस्याले पनि यस्ता घटना निम्ताइरहेका छन् । ‘पछिल्लोपटक मान्छेको दिमागमा नकारात्मक सोच र क्रियाकलापले प्रश्रय पाउन थालेको छ’ मनोविज्ञ गंगा पाठकले भन्नुभयो-’यसबाट पारिवारिक तथा सामाजिक हिंसा बढाएको छ ।’ नकारात्मक सोचलाई समयमै नियन्त्रण गर्न नसक्दा हिंसात्मक घटना हुने गरेको उहाँले बताउनुभयो । ‘मान्छेमा नैतिक र चारित्रिक शिक्षाको पनि कमी छ’ पाठकले भन्नुभयो-’समाजमा नैतिकहीन र चरित्रहीन मान्छेको संख्या बढिरहेकाले आपराधिक क्रियाकलाप पनि मौलाइरहेको छ ।’ महिला आफैं कसरी सचेत हुने ? महिला हिंसाका घटना बढ्नुमा पुरुषप्रधान सामाजिक संरचना र केही पुरुषको विकृत मानसिकता त दोषी छँदैछ । त्यसमाथि राज्य र प्रहरी प्रशासनले पनि प्रभावकारी काम गर्न सकेका छैनन । सरकारी निकायबाटै महिलामाथि हिंसा र दुव्र्यवहार भएको घटना सार्वजनिक भैरहेका छन् । परिवारका सदस्यलाई पनि विश्वास गर्न सक्ने अवस्था छैन । अधिकारकर्मीहरुका अनुसार ८० प्रतिशत घटना परिवारका सदस्यबाट नै हुने गरेका छन् । यस्तोबेला महिला आफैंले आफूलाई सुरक्षित बनाउन विशेष सावधानी अपनाउनुपर्छ । अधिकारकर्मी लक्ष्मी पोखरेलको सुझाव यस्तो छ : · जोकोहीलाई पनि तुरुन्तै विश्वास नगर्ने । · स्वनिर्णय गर्ने क्षमता बढाउने । · कतै जाँदा घरपरिवारका सदस्य, आफन्त र मिल्ने साथीलाई भन्ने । सकभर एक्लै नहिँड्ने । · आफूले मन पराउने केटा साथीसँग हिँड्दा पनि एकान्त ठाउँमा नजाने । केटा साथीसँग जाँदा घरका सदस्यलाई भन्न नसकेपनि आफूलाई मिल्ने साथीलाई कहाँ, कोसँग जाँदैछु भन्ने ।