बसभित्रै किशोरीको सामूहिक बलात्कार
बुटवल बसपार्कमा रोकिराखेको बसभित्रै किशोरी बलात्कृत भएकी छन् । रोल्पा नुवागाउँ गाविस–४ घर भई कामका लागि बुटवल आएकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । तीन जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत हुन्छिन त कहिले डराउने र चिच्याउने गरेको सौर्य सहितका आजका पत्रकपत्रिकामा खबर छ । ८ पुसमा बेलुका भएको घटना एक महिनापछि मात्र सार्वजनिक भएको हो ।
किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल–९, दीपनगरका १७ वर्षीय भीमबहादुर सुनार, सोही ठाउँका २३ वर्षीय रमेश थापा र स्याङ्जाको वालिङ–१ का १९ वर्षीय हरि पाठकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका एसपी राजकुमार बैदवारले बताए ।सौतेनी आमाको दुव्र्यवहार सहन नसकी गाउँकै एक युवाको सहयोगमा कामका लागि बुटवल आएकी किशोरीलाई बुटवल बसपार्कमा रोकी राखेको लु १ ख ३६०८ नम्बरको बसमा लगेर तीनजनाले सामूहिक बलात्कार गरेका थिए ।
मुख थुनेर हातखुट्टा बाँधेर नियन्त्रणमा लिएर बलात्कार गरिएको पीडित किशोरीले प्रहरीसामु बताएकी छन् । घटनाको एक महिनापछि तीनै अभियुक्तलाई इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको हो । अभियुक्तमध्ये सुनारलाई ८ पुसमा उसकै बयानका आधारमा, अर्का अभियुक्त थापालाई ९ पुसमा घरैबाट पक्राउ गरेको थियो । उनीहरू पुर्पक्षका लागि थुनामा छन् । एक महिनाको खोजतलासपछि ८ माघमा पाठकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
किशोरी बलात्कारपछि दाङ जाने गाडी चढाइदिन्छु भन्दै लैजाँदै गर्दा ८ पुसमा सुनारलाई गस्तीमा रहेको वडा प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीको गस्ती टोली देख्नासाथ पीडित युवती चिच्याएर बलात्कारमा परेको भन्दै गुहार मागेकी थिइन् ।
प्रहरीले लगत्तै सुनारलाई पक्राउ गरी पीडितलाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ लगिएको थियो । मुख्य अभियुक्त पक्राउ नगर्दासम्म घटनालाई प्रहरीले गोप्य राखेको बताएको छ । घटनामा संलग्न सबै पक्राउ भएपछि मात्रै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं