काठमाडौंमा भेटियो चाइनिज वेश्यालय

काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय रहेछन् । फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ । ठमेलको शिक्षा मन्त्रालयपछाडि तीनतले भव्य बंगला भाडामा लिएर चाइनिज दम्पतीले कोठी चलाउँदै आएका थिए । सञ्चालक पक्राउ परेका छन् भने उनकी श्रीमती फरार छिन् । प्रहरीले बुधबार बेलुका आठ बजे बंगलामा छापा मारेर कोठी सञ्चालक पुरुष, ६ चाइनिज युवती र ६ नेपाली ग्राहकलाई पक्राउ गरेको छ । ठमेलको यो वेश्यालयलाई प्रहरीले दुई महिनादेखि निगरानीमा राखेको प्रहरी स्रोतले जनाएको छ । ठमेलमा अरू विदेशी युवतीका पनि कोठी रहेको प्रहरी आशंका छ । अग्लो पर्खालले घेरिएको तीनतले भव्य घरमा रहेका नौवटा कोटामध्ये तीनवटा कोठा व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएका थिए भने बाँकी ६ कोठा यौनलीलाका लागि प्रयोग गर्दै आएका थिए । यौनलीलाका लागि छुट्याइएका कोठाहरूमा आकर्षक सजावटका साथै २९ इन्चका टेलिभिजन, सिडी प्लेयर र ब्लु फिल्मका सिडीहरू राखिएका थिए । प्रहरीले बेलुका साढे आठ बजे घरमा छापा मार्दा चिनियाँ केटीहरू ग्राहकसँग मस्त थिए । प्रहरीका अनुसार डेढ महिनाअगाडि ठमेलमा चिनियाँ नागरिकले कोठी चलाउने गरेको जानकारी आएपछि प्रहरीले निगरानी बढाएको थियो । डेढ महिनाको निरन्तर निगरानीपछि सो बंगलामा कोठी सञ्चालित रहेको निष्कर्षपछि बुधबार प्रहरीले छापा मारेको थियो । कोठीमा छापा मार्न परिसरको टोली सादा पोसाकमा खटिएको थियो । आठ बजेदेखि नै सो बंगलामा आउने-जाने व्यक्तिहरूको निगरानी गरी साढे आठ बजे छापा मारेको थियो । बंगलाभित्र प्रहरी प्रवेश गर्ने प्रयास गर्दा सञ्चालकले भित्रबाट गेटमा चुकुल लगाइदिएपछि प्रहरी पर्खाल नाघेर भित्र छिरेको थियो । प्रहरी टोली भित्र प्रवेश गरी कोठा-कोठामा जाँदा जोडीहरू मदिरामा लठ्ठ भएर आपसमा जोल्ठिएका थिए । प्रहरी टोली कोठा-कोठामा छिर्न थालेपछि चिनियाँ केटीहरू र नेपाली ग्राहकहरू चिच्याउँदै भाग्ने प्रयास गरेका थिए । प्रहरीले पूरै घरमा खानतलासी लिएर उनीहरूलाई नियन्त्रणमा लिन करिब एक घन्टा लागेको थियो ।
प्रारम्भमा थोरै व्यक्ति रहेको निष्कर्ष निकालेर घरभित्र छिरेका प्रहरीलाई नियन्त्रणमा लिन हम्मे पर्‍यो । छापा मार्न खटिएको टोलीले मात्र उनीहरूलाई नियन्त्रणमा लिन नसकेपछि थप प्रहरी फोर्स मगाउनुपरेको थियो । प्रहरीले कोठाहरूमा छापा मार्दा कन्डम र ब्लु भिडियोका सिडीहरू फेला पारेको छ । स्थानीयवासीका अनुसार सो कोठीमा प्रायः भव्य सवारीसाधन लिएर नेपाली र विदेशी नागरिकहरूको बाक्लो आउजाउ हुने गरेको थियो । तर, बुधबार छापा मार्दा कुनै विदेशी ग्राहक भने फेला परेनन् । प्रहरीका अनुसार कोठी सञ्चालक चाइनिज नागरिक नै हुन् । नेपाली भाषाका पोख्त सोनाम नामका चिनियाँ नागरिकले सो बंगला भाडामा लिएका हुन् । उनलाई आफ्नी श्रीमतीले कोठी चलाउन सहयोग गरिरहेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार उनीहरूले प्रतिग्राहक रातभरको २५ हजार नेपाली र एकपटकको पाँच हजार रुपैयाँ लिने गर्थे । स्रोतले भन्यो, उनीहरू बाहिर होटलमा जानुपर्‍यो भने थप चार्ज लिन्थे । महानगरीय प्रहरी परिसरका प्रमुख नवराज सिलवालले ठमेलमा चिनियाँ नागरिकले कोठी चलाउने गरेको जानकारी आएपछि निगरानी गरेर छापा मारेको बताए । उनले भने, घरै भाडामा लिएर कोठीको रूपमा प्रयोग गर्ने गरेको जानकारी आएपछि हामीले निगरानी बढाएका थियौँ, अनुसन्धानका क्रममा प्राप्त जानकारी सत्य भएको पुष्टि भएपछि छापा मारेका हौँ । सिलवालले पक्राउ परेका चिनियाँ र नेपाली दुवैलाई कारबाही गर्ने बताए । उनले पक्राउ व्यक्तिहरू परिसरको हिरासतमा रहेको जानकारी दिँदै भने, चिनियाँ भए पनि उनीहरूले नेपालको कानुनको उल्लंघन गरेकाले प्रचलित कानुनअनुसार कारबाही गर्छौं । यौन व्यवसाय गर्ने र कोठी चलाउनेलाई कारबाही गर्ने स्पष्ट कानुनको अभाव रहेकाले प्रहरीले उनीहरूलाई समाजमा उच्छृंखलता बढाएको अभियोगमा सार्वजनिक मुद्दा चलाउँदै आएको छ । सिलवालले ठमेलमा विदेशीद्वारा सञ्चालित अन्य चारवटा अखडाको बारेमा समेत जानकारी आएको दाबी गर्दै ती सबै अखडा प्रहरीको निगरानीमा रहेको बताए । काठमाडौं परिसरको टोलीले केही महिना अगाडि कान्ति बाल अस्पतालपछाडि सञ्चालित कोठीमा छापा मारेर एक सभासद्सहित यौनकार्यमा संलग्न युवतीहरूलाई पक्राउ गरेको थियो । नयाँ पत्रिका-