छोरालाई बचाउन खोज्दा एक वृद्धको ज्यान गयो

म्याग्दी, कात्तिक ५ । आफ्नो छोरालाई कुटपिटबाट बचाउन खोज्दा म्याग्दीको घतानमा एक वृद्धको ज्यान गएको छ । खानेपानीको विवादका क्रममा घतान– ३ तोरीपानीमा हात हालाहालको स्थिति उत्पन्न भएपछि मिलाउन गएका ७६ वर्षीय लक्ष्मण विकको धक्काका कारण लडेर घटनास्थलमै मृत्यु भएको हो । स्थानीय कृष्ण भण्डारीले राति धनलाल विकलाई केही कुरा गर्नु छ भनी बोलाएपछि छोरासँगै गएका विकले दुई जनाको कुटपिट हुने अवस्था आएपछि छुट्याउने प्रयास गरेका थिए ।छोरालाई कुटपिटबाट बचाउने क्रममा घकेलिएर लड्दा टाउकोमा चोट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । कुटपिटमा संलग्न कृष्ण भण्डारी लगायत चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।