सिग्नेचर’ खोल्न नयाँ तरिकाको प्रयोग (भिडियो)

सिनेमाको प्रमोशनका लागि निर्माणपक्षले नयाँ नयाँ जुक्ति र प्रयोग गरिरहेका हुन्छन् । जतिसक्दो आफ्नो सिनेमा दर्शकमाझ लोकपि्रय बनाउने कसरतमा विशेषगरी हलिउड र बलिउडका निर्माता निर्देशकहरु दिमाग घुमाइरहेका हुन्छन् । तर नेपाली चलचित्रमा अझै पनि चलचित्रको प्रमोशनका लागि अर्थलाग्दो प्रयोग भएको पाइदैन । यसैक्रममा प्रदर्शनको पालो कुरिरहेको चलचित्र ‘सिग्नेचर’ ले केही आशा लाग्दो प्रयोग थालेको छ । फेसबुकमा आफ्नो खाता खोलेर प्रमोशन सुरु गरेको चलचित्र ‘सिग्नेचर’ को निर्माणपक्षले नयाँ नयाँ प्रयोग गरिरहेको छ । चलचित्रको प्रमोशनका लागि सुरुवातमै प्रोमो र गीतसंगीत संचारमाध्यममा छोड्ने प्रथाबाट हटेर चलचित्रको निर्माणपक्षले प्रोमो एड तयार पारेको हो । चलचित्रको प्रोमो एड मा सिनेमाका कुनै पनि दृश्यलाइ स्थान दिइएको छैन । चलचित्रका निर्देशक सागर उद्गमले नयाँ प्रयोग गर्नकै लागि प्रमो एड तयार पारेको बताए । दर्शकमा उत्सुकता र जिज्ञासा बढाउन सिनेमाको प्रमोशन विभिन्न कोणबाट गरिएको निर्माणपक्षको भनाइ छ । विश्वका विभिन्न देश र महोत्सवमा समेत प्रदर्शन गर्ने तयारीका साथ चलचित्रको निर्माणपक्षले दौडधुप गरिरहेको छ । नकारात्मक कुरालाइ छोड्दै सकारात्मक कुराको मात्र सोचाइ गर्नुपर्छ भन्ने मुल भाव बोकेको यो चलचित्र बास्तवीक र खोजमुलक कथामा तयार भएको दाबी निर्देशक उद्गमले गरेका छन् । क्रियटिभ मनकामना फिल्मस्को व्यानरमा तयार भएको चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, निर्णय श्रेष्ठ, जीवनसाथी बस्नेत, अमृता थपलिया, जे.बी डीसी, शौरभ सिंह, नम्रता सापकोटा, सरिता गिरीको मुख्य भुमिका छ । केही फरक विषयबस्तु बोकेर तयार पारिएको भनिएको चलचित्रको प्रमोशन गर्ने शैलीले व्यापारमा कत्तिको फरक पार्छ यसका लागि प्रदर्शन मिति नै कुर्नु पर्दछ । तर सिनेमाको प्रमोशन शैलीले केही आशा भने पक्कै जगाएको छ ।