शव कुहिएर दुर्गन्धित हुँदा पनि पोस्टमार्टम भएन, परिवार पाँच दिनदेखि भोकै
९ साउन, मुगु । मुगुको जिल्ला अस्पताल ठिनीमा चिकित्सक नभएर ५ दिनदेखि शव पोस्टमार्टम हुन नसक्दा परिवार र आफन्त भोकभोकै बस्न बाध्य छन् । मृतकको दाहसंस्कार नहुँदासम्म परिवारका सदस्य र आफन्तले केही खान नहुने स्थानीय चलनअनुसार उनीहरु भोकै बसेका हुन् ।
मृतकका परिवारले छाक बार्ने र आफन्त गाउँलले नुन नखाले चलन भएकाले सबैलाई समस्या परेको बुधबार प्रकाशित कान्तिपुर दैनिकमा खबर छ ।
पिना-५ बालैगाउँका २२ बर्षका नाना भामको शव शुक्रबार पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । गर्मीले शव कुहिएर दुर्गन्ध बढ्दै गएको छ । घरैमा झुन्डिएर मृत भेटिएकाले अनुसन्धानका लागि शवलाई पोस्टमार्टम गर्न ल्याइएको प्रहरी नायब उपरीषक रनबहादुर रायमाझीले बताए ।