उम्मेद्वारको विपक्षमा भोट हाल्ने व्यवस्था मिलाउन माग

२६ असार, काठमाण्डौं । संविधानसभा सदस्य निर्वाचन ऐन तयार भएर निर्वाचनको प्रक्रिया धेरै अघि बढेपछि मतपत्रमा उम्मेदवारको विपक्षमा पनि मतदान गर्न पाउने व्यवस्था (नेगेटिभ भोट) को प्रस्ताव अगाडी सारिएको छ ।
नेपालको निर्वाचन प्रणालीमा उम्मेद्वारको विपक्षमा मतदान गर्ने कानुनी व्यवस्था छैन् र अभ्यास पनि भएको छैन् । राजनीतिक दलहरुमा अपराधी, गुण्डा, डनहरुलाई प्रवेश गराउने र उनीहरुकै बलमा निर्वाचन जित्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न ‘नेगेटिभ भोट’को व्यवस्था हुनुपर्ने आवाज उठेको बुधबार प्रकाशित गोरखापत्र दैनिकमा खबर छ ।
राजधानीमा मंगलबार भएको ‘भ्रष्टाचार, अपराध र आतंकबिहीन राज्य निर्माणको निमित्त निर्वाचनमा नेगेटिभ भोटको व्यवस्था’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताबाट यो विषय सुन्दा चाखलाग्दो विषय भए पनि अहिले व्यावहारिक नभएको टिप्पणी गरिएको थियो ।
केही राजनीतिक दल र नागरिक समाजका व्यत्तित्वको सहभागितामा रहेको अन्तरक्रियाका वक्ताबीच मत बाझिएको थियो । संविधानसभाको निर्वाचनको पक्षमा रहेका दलका नेताहरुले अव नकारात्मक कुरा गरेर अन्योल सिर्जना गर्नुभन्दा निर्वाचनलाई सफल पार्नेतर्फ लाग्न जोड दिएका थिए ।
साना दलका केही नेता र नागरिक समाजका व्यक्तिहरुले भने ठूला दलका अपराधीको भीड बढ्न थालेको, तिनै अपराधीले टिकट पाउने र साम, दाम र धम्कीको भरमा चुनाव जित्ने सम्भावना देखिएकाले त्यस्ता उम्मेद्वारविरुद्ध पनि मत हाल्न पाउनुपर्ने प्रस्ताव गरेका थिए ।