अमेरिकी डलर साट्न अब बैंक गइरहनु नपर्ने

६ साउन, काठमाडौं । अमेरिकी डलरको भाऊ ह्वात्तै बढेका बेला नेपाल राष्ट्रले आइतबार सार्वजनिक गरेको नयाँ मौदि्रक नीतिले नेपालीहरुलाई अमेरिकी डलरको कारोबारलाई सहज बनाउने भएको छ । नयाँ नीतिअनुसार उपहार वा टिप्स वापत प्राप्त निश्चित दरको अमेरिकी डलर अबदेखि मनीचेञ्जरमा समेत साट्न सकिने भएको छ ।
dollarsनयाँ मौद्रिक नीतिअनुसार विभिन्न प्रयोजनका लागि व्यक्ति तथा संघ-संस्थाहरुलाई विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त बैंकहरुबाट अमेरिकी डलर ६ हजारसम्मको सटही गर्न पाउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधाको सीमा वृद्धि गरी १० हजार अमेरिकी डलर सटही गर्न पाउने सुविधा दिइने भएको छ ।
भारतीय रुपैयाँको अमेरिकी डलरसँगको विनिमयदरमा आएको उतार-चढावको कारण नेपाली मुद्राको पनि अमेरिकी डलरसँगको विनिमयदरमा उतार-चढाव आएको राष्ट्र बैंकले जनाएको छ । ‘०६९ साउनको तुलनामा ०६९ चैतसम्म नेपाली रुपैयाँ अमेरिकी डलरसँग अधिमूल्यन हुँदै गएकोमा ०७० बैशाखदेखि क्रमशः अवमूल्यन हुँदै गएको छ’, राष्ट्र बैंकद्वारा जारी ४५ पृष्ठ लामो मौदि्रक नीतिमा भनिएको छ, ‘आर्थिक वर्ष ०६९/७० मा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.७ प्रतिशतले अवमूल्यन भएको छ ।’
नयाँ मौद्रिक नीतिमा अमेरिकी डलरसम्बन्धी यस्तो व्यवस्था गरिएको छ:
–निजी तथा औपचारिकतवरले विदेश भ्रमण (भारत बाहेक) मा जाने नेपाली नागरिकलाई प्रतिपटक २ हजार ५ सय अमेरिकी डलरसम्म सटही सुविधा दिने । 
–विदेशमा व्यवसाय प्रवर्द्धन, व्यापार मेला र व्यापार गोष्ठीमा जाने नेपाली नागरिकलाई राहदानी वापत प्रतिपटक ५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा प्रमाणका आधारमा प्रदान गर्ने ।
–विदेशी मुद्रामा खाता भएका नेपाली नागरिकले आफ्नो खातामा रहेको विदेशी मुद्रा मौज्दातबाट प्रतिवर्ष बढीमा ५ हजार अमेरिकी डलरसम्म औचित्यको आधारमा विदेशी मुद्रामा नै उपयोग गर्न पाउने ।
–नेपाली नागरिकले आˆनो व्यवसाय सञ्चालन वा विस्तार गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति लिई निजको नातेदार, गैर-आवासीय नेपाली वा संघ-संस्थाबाट तोकिएका शर्तहरुका अधीनमा रही २ लाख अमेरिकी डलरसम्म ऋण लिन सक्ने ।
–नेपाली नागरिकलाई विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्स आदि वापत प्राप्त हुने विदेशी मुद्राको सटही सुविधा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट मात्र गर्न सकिने व्यवस्था रहेकोमा विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरहरुमार्फत् पनि ५ सय अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा सटही गर्न सकिने ।
बढ्यो अमेरिकी डलरको कारोबार
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०६९/७० मा राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट ३ अर्ब २२ करोड अमेरिकी डलर खुद खरिद गरी २ खर्ब ८५ अर्ब ३ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट ३ अर्ब १९ करोड अमेरिकी डलर खरिद गरी २ खर्ब ५८ अर्ब २८ करोड खुद तरलता प्रवाह गरेको थियो । यो तथ्यांकलाई हेर्दा ०६९/०७० मा अघिल्लो वर्षको भन्दा ३ करोड अमेरिकी डलरको कारोवार बढेको छ ।