तरकारी मिठो नभएको गुनासो गर्दा छोरामाथि आमाद्वारा खुकुरी प्रहार

२० असार,उदयपुर- उदयपुरमा आमाको खुकुरी प्रहारबाट एक किशोर गम्भीर घाइते भएका छन्। त्रियुगा नगरपालिका-३, बुद्धचौककी इन्दिराकुमारी भुजेलको खुकुरी प्रहारबाट १४ वर्षीय छोरा विकास भुजेल गम्भीर घाइते भएका हुन्।



बिहीबार बिहान खाना खान बसेका विकासलाई आमाले खुकुरीप्रहार गरेको स्थानीयले बताए। खुकुरी प्रहारले विकासको ढाडमा गहिरो चोट लागेको प्रत्यक्षदर्शी छिमेकी नवराज ढकालले बताए। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको र स्थिति सुधार हुँदै गरेको प्रहरीले जनाएको छ। छिमेकीका अनुसार खाना खान बसेका विकासले नमिठो खाना भन्दै थालै फ्याँकेपछि आवेशमा आएकी आमाले नजिकै रहेको खुकुरी झिकेर प्रहारगरेकी थिइन्।

खाना फ्याँकेको रिसमा खुकुरीले काट्छु भन्दै छोपेपछि भागेका विकासको ढाडमा चोट लाग्न पुगेको छिमेकीको भनाइ छ। किशोरका बाबु वैदेशिक रोजगारीको सिलसिलामा कतार रहेको बताइएको छ। प्रहरीले इन्दिरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।