बिहीबारदेखि देशभरका उद्योग बन्द गर्ने माओवादी मजदुरको धम्की ,उद्योग-व्यवसाय बन्द नगर्न महासंघको आग्रह

२२ जेठ, काठमाडौं । नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बिहीबारदेखि देशभर संचालनमा रहेका उद्योग कलकारखाना तथा व्यवसाय बन्द गर्ने भएको छ । मजदुरको न्यूनतम तलब वृद्धि गरेर १५ हजार रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्दै ट्रेड युनियनले अनिश्चितकालीन बन्दको घोषणा गरेको हो ।



नेकपा-माओवादी निकट मजदुरले उद्योग कलकारखान बन्द गर्ने घोषणा गरेपछि नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । महासंघले बुधबार विज्ञप्ती जारि गरि बिहीबारदेखि देशभरका उद्योग-कलकारखाना बन्द गर्ने मजदुरको घोषणाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मजदुर संगठनले भने आफुले अगाडी सारेका २५ बुँदे मागहरु पुरा नभएसम्म उद्योग-कलकारखाना बन्द गर्ने स्पष्ट पारेको छ । सरकारले आफुले अगाडी सारेका मागहरुप्रति सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ ।

श्रमिक कामदारको न्यूनतम मासिक तलव सरकारद्वारा गठित रोजगारदाता, ट्रेडयुनियन र सरकारका प्रतिनिधि सम्मिलित समितिले सिफारिश गरिसकेको बताउँदै महासंघले तत्काल बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । सबैको सहमतीमा न्यूनतम तलव तोकिसकेको अवस्थामा न्यूनतम १५ हजार रुपैयाँ तलवको माग गरी आन्दोलनलमा उत्रिनु गलत भएको महासंघको ठहर छ । मजदुर संगठनले दैनिक ज्यालादारीमा काम गर्नेलाई दैनिक ७ सय रुपैयाँ ज्याला दिनुपर्ने माग राखेको छ ।

चर्को लोडसेडिङ, बैकिङ व्याजदर, श्रम अस्थिरता, मजदुर कामदारमा राजनीतिक प्रभावका कारण उद्योग व्यवसाय संचालन कष्ठकर बन्दै गएको महासंघले बताएको छ । जेनतेन संचालनमा रहेका उद्योग प्रतिष्ठानहरु पनि बन्द हड्तालका कारण टाट उल्टिने अवस्थातर्फ धकेलिएको महासंघको भनाई छ ।