उपचार नभएसम्म लीलारामलाई साउदीमै राखिने, सहयोग जुट्दै

हुमसुनारी मगर

रियाद । ब्रेन ट्युमरबाट पिडीत भई साउदीमा अलपत्र परेका नेपाली नागरिक लिलाराम मगरलाई उपचार नभएसम्म साउदीस्थीत अस्पतालमै राखिने भएको छ । रियादस्थित समैसी अस्पतालमा उपचार गराइरहेका मगरको अप्रेसन सफल भएको र अझै उनलाई केही समय अस्पताल राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कम्पनीबाट भागेर अबैधानिकरुपमा काम गरिरहेका मगरलाई नेपाली राजदूतावास र नेपाली समुदायको पहलमा अस्पताल भर्ना गरिएको थियो । उनलाई सुरुमा स्ट्रेचरमै राखेर नेपाल पठाउने योजना बनाइएको भएपनि हाललाई निको नहुँदासम्म यहीँ राख्ने तयारी भएको छ ।


१७ हजार रियाल सहयोग जुट्यो

मगरको नाजुक अबस्थाबारे केही दिनअघि अनलाइनखबरमा समाचार सम्प्रेषण भएपछि बिश्वभर रहेका सहयोगी भावनाका नेपालीहरुले सहयोग गरिरहेका छन् ।

अहिलेसम्म १७ हजार ४१ साउदी रियाल सहयोग संकलन भइसकेको छ । त्यसमध्ये रकम दिने कवुल गरेका कतिपय दाताहरुले रकम पठाउन बाँकी रहेको छ । बेलायतमा बस्नु हुने बम सुर्यबंशीमगर र नेम थापामगर पनि आर्थिक सहयोग जुटाउनमा ठुलो सहयोग पुर्याउनु भएको छ । लीलारामको लागि आवश्यक पर्ने रकममध्ये उठ्न बाँकि रहेको लगभग २ हजार ७ सय साउदी रियाल सहयोग गर्न ट्राभल ब्यबसायी श्याम अग्रवालले बचन दिनुभएको छ ।

उनलाई स्ट्रेचरमा नेपाल पुर्याउन ओमान एयरले करिव १६ हजार ५ सय ४७ रियाल मागेको थियो । अहिले उनका लागि सहयोग रकम जुट्न सुरु भएपनि अस्पतालबाट निकै धेरै बिल आउने हो कि भन्ने चिन्ता बढेको सहयोग संकलनमा सक्रिय अगुवाहरुले बताएका छन् ।