छोराको हत्यारालाई कारबाहीको माग गर्दा जबर्जस्ती आमाबाबु मानसिक अस्पताल भर्ना

२ असार, काठमाडौ । सशस्त्र द्वन्द्वका बेला सुराकी गरेको भन्दै हत्या गरिएका गोरखाका एक युवकका बाबुआमा यतिबेला राजधानीको पाटनस्थित मानसिक अस्पतालमा छन् । छोराको हत्यारालाई कारबाहीको एकसूत्रीय माग राख्दै आएका बाबु नन्दप्रसाद अधिकारी र आमा गंगामायालाई प्रहरीले मानसिक अस्पताल पुर्याइदिएको हो ।



न्याय माग्न काठमाडौंका प्रभावशाली नेतादेखि अधिकारकर्मीको ढोकासम्म चहार्दै गर्दा अन्तिममा वीर अस्पतालमा धर्नामा बसेकै बेला प्रहरीले उनीहरूलाई पक्राउ गरी मानसिक अस्पताल पुर्याएको हो । गोरखा फुजेल–७ का उनीहरूका छोरा १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई सुराकी गरेको भन्दै १४ जेठ २०६१ मा हत्या गरिएको थियो । प्रहरीले मानसिक अवस्था ठीक नभएको भन्दै भ्यानमा हाली पाटन मानसिक अस्पतालमा पुर्याएपछि दुवैलाई जबर्जस्ती बेहोस बनाउने इन्जेक्सन लगाइएको अधिकारीकी भान्जी सुशीला तिवारीले बताएकी छिन्

अधिकारी दम्पतीले भने आफूहरूको मानसिक अवस्था ठीक भएको दाबी गर्दै आएका छन् । ‘हाम्रो मानसिक अवस्था ठीक छ, बरु हामीलाई मानसिक अवस्था ठीक नभएको भन्ने सरकारकै मानसिक अवस्था ठीक छैन,’ नन्दप्रसादले भने, ‘हामीलाई अनशन बसिरहेकै ठाउँबाट प्रहरीले जबर्जस्ती उठाएर ल्यायो, न्याय माग्दा बौलाहा आरोप लगाए ।’ उनीहरूले एकीकृत नेकपा माओवादीका नेता र सरकारको दबाबमा आफूहरूलाई पक्राउ गरी मानसिक अस्पताल राखिएको समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ