रेखालाई रिप्लेस गर्ने यस्ती छिन् छविकी रजनी (फोटो फिचरसहित)

चलचित्र ‘लोफर’बाट निर्माता छविराज ओझाले नव नायिका भित्राएका छन् । चलचित्र क्षेत्रमा नायिका रेखा थापा आएसँगै छवि क्याम्पमा नयाँ नायिकाले कमै मात्र अवसर पाएका थिए । तर गतबर्ष रेखा थापासँग औपचारिक रुपमै छुट्टएिपछि छविले नयाँ नायिका खोजेका हुन् ।



छविले ‘लोफर’बाट भित्राउँन लागेकी नव नायिका हुन्, रजनी केसी । नुवाकोट घर भएकी रजनी काठमाण्डौमा परिवारसँग बस्दै आएकी छिन् । उसो त रजनीको अध्ययन र रुचिमा फरक छ । फार्मेसीको पढाई सकेकी रजनीको चाहना सिने नगरीमा भएकाले नै उनले ‘लोफर’मा अवसर पाएकी हुन् । छविले हाँस्दै अनलाइनखबरसँग भने, ‘५ फिट ४ इन्च अग्ली रजनीलाई जो कोही नायकसँग जोडी नै सुहाउँदैन ।’



फार्मेसी पढे पनि रजनी सिनेमा खेल्न चाहन्थिन् । यसैले आफूले मौका दिएको निर्माता ओझाको भनाई छ । चलचित्र ‘लोफर’मा उनले गरेको अभिनयबाट आफू निक्कै प्रभावित भएको छविको तर्क छ । बडादशैको फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।



चलचित्रलाई आदित्य विक्रम लम्सालले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकाश्यप घिमिरेको छायांकन, सोनाल सापकोटाको संगीत, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन समावेश छ । चलचित्र युवापुस्तालाई टार्गेट गरेको निर्माता ओझाले बताए । अब हेर्न यो मात्र बाँकी छ कि, रेखा थापालाई नै रिप्लेस गर्दै छविराज प्रोडक्शनमा प्रवेश गरेकी रजनीले बजारमा कस्तो चर्चा र उचाई पाउने हुन् ।

onlinekhabar