नक्कली डाक्टर र गैरकानुनी डेन्टलको बिगबिगी !!
जनतालाई स्वास्थ्यसेवा दिने नाममा स्थापना भएका डेन्टल क्लिनिकहरू गैरकानुनीरूपमा सञ्चालनमा रहेको पाइएको छ । डेन्टल क्लिनिकमात्रै होइनन्, उपचार गर्न खटिने डाक्टर पनि नक्कली भएको पाइएको छ । डेन्टल क्लिनिकको डाक्टर हुन बी.डी.एस्. उत्तीर्ण हुनुपर्ने प्रावधान छ तर रुपन्देहीका अधिकांश दन्त क्लिनिकका डाक्टरले सो मापदण्ड पूरा गरेका छैनन् । गैरकानुनी रूपमा सञ्चालित डेन्टल क्लिनिकका नक्कली डाक्टरको बिगबिगीले जनस्वास्थ्यमा ठूलो असर परेको छ ।गैरकानुनी रूपमा सञ्चालित क्लिनिकमा बुटवलस्थित साइराम डेन्टल, बुटवल डेन्टल, आशीष डेन्टल, एलिना डेन्टल, सिद्धार्थ डेन्टल, नमस्ते डेन्टल, आस्था डेन्टल र डक्टर डेन्टल छन् । भैरहवामा बुद्ध डेन्टल, लुम्बिनी डेन्टल, अर्थो डेन्टल, दीप डेन्टल, स्माइल होम डेन्टल, अर्घा मेडिकल डेन्टल एवम् आले डेन्टल पनि गैरकानुनीरूपमा सञ्चालनमा रहेका छन् । लुम्बिनी अञ्चल अस्पतालका वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीका अनुसार राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै पैसा कमाउन रुपन्देहीमा च्याउसरी गैरकानुनी क्लिनिकहरू खुलेका छन् । क्लिनिकमा नक्कली डाक्टरले उपचार गर्दा बिरामीलाई झन समस्या थपिएको छ