गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)

लोग्नेले परिवार धान्नको लागि कमाइ गर्न नसकेपछि चीनमा एक दृष्टिवीहिन महिलाले आफ्नै चारवटा बच्चा बेचेकी छिन् । लोग्नेको कुनै भरपर्दो जागिर नभएको र परिवारको गुजारा चल्न नसकेकोले ती महिलाले आफ्नै बच्चा बेच्नुपरेको बताएकी छिन् ।



चीनको सिचुआन प्रान्तस्थित मियानयांगको सिबेइ गाउँकी डु जिउरोंगले सन् २००५ देखि २०१२ को अवधिमा चारवटा बच्चा पाएर बेचेकी हुन् । उनले जन्माएका ६ बच्चामध्ये सबैभन्दा जेठो छोरा र जेठी छोरीलाई मात्र राखेकी छिन् भने अरु ३ छोरी र एक छोरालाई बेचिन् ।

‘म सँग अरु विकल्प थिएन, यदि म अन्धी नभएको भए मैले यसो गर्दिनथेँ’ उनी भन्छिन् । आफुले बच्चा नबेचेको दाबी गर्दै उनले केवल थोरै सुत्केरी खर्च मात्र लिएर आफ्ना बच्चा अरु बच्चा नहुनेहरुलाई दिएको बताएको डेलीमेलले जनाएको छ । ’मैले बच्चालाई माया गर्छु । यदि म सक्षम हुन्थे भने मैले निश्चित रुपमा उनीहरुलाई हुर्काउथेँ । तर मैले उनीहरुलाई हुर्काउने हैसियत छैन त्यसैले मैले मेरा बच्चालाई पाल्ने राम्रो परिवार भेटेँ र उनैलाई दिएँ’ निकै गम्भीर अभिव्यक्ति दिँदै उनले भन्छिन्-’धनी मान्छेहरु छोरीको विहेमा मनग्गे पैसा उडाउँछन्, मध्यम वर्गिय मान्छेले छोरीको बिहेका लागि भन्दै पैसा कमाउँछन् भने गरीब मान्छेहरुले भने पैसाका लागि छोराछोरी बेच्छन् ।’



गएको जनवरीमा बच्चा बेचेको आरोपमा डु पक्राउ परिन् तर अपांग भएको भन्दै उनलाई छाडियो । पाँच वर्षकी छँदा दुर्घटनामा परेर आँखाको ज्योति गुमाएकी डु को १४ वर्षको उमेरमा बिहे भएको थियो । उनले पहिलो सन्तानको रुपमा सन् १९९१ मा छोरो पाइन् भने सन् २००० मा पहिलो छोरी पाइन् । छोराछोरी हुर्किँदै जाँदा उनीहरुको पालनपोषण र शिक्षादिक्षाका लागि खर्च बढ्न थाल्यो । तर लोग्नेको कमाइ थिएन । त्यसैले उनले बच्चा पाएर बेच्दै पैसा कमाउने निधो गरिन् ।

त्यसपछि उनले पहिलोपटक सन् २००५ मा एउटी छोरी जन्माएर २५ सय युआनमा बेचिन् । त्यसपछिको सात वर्षमा उनले लगातार ३ सन्तान जन्माएर बेचिन् । त्यसबापत उनले जम्माजम्मी १० हजार युआन कमाएकी छिन् । एक सन्तान नीति रहेको चीनमा डु का लागि गर्भ बोक्नु, बच्चा पाउनु र बेच्नु सजिलो काम थिएन । उनले गाउँका अधिकारीहरुका अगाडि गर्भ लुकाउनु पर्थ्यो ।



यदि उनी गर्भवती भएको थाहा भएमा स्थानीय प्रशासनले उनलाई गर्भपतन गर्न बाध्य पार्थ्यो र बच्चा पाएमा कारवाही हुन्थ्यो । डु का जेठा छोराले पनि छोरो पाइसकेका छन् र डु अहिले हजुरआमा बनिसकेकी छिन् । अब उनलाई नाती राम्ररी हुर्काउने धोको छ । उनले नातीको शिक्षाका लागि पनि बच्चा बेचेर पैसाको जोहो गर्ने योजना बनाइसकेकी छिन् । उनी भन्छिन्-’मैले नातिलाई राम्रो शिक्षादीक्षा दिनेछु म मेरो सबैकुरा बेच्न तयार छु ।’