काठमाडौ उपत्यकाका सडकमा केवलकार !

काठमाडौ, जेष्ठ २७ - बढ्दो सवारी जामलाई न्यूनकरण गर्न सडक फराकिलो पारिरहेको सरकारले दीर्घकालीन समाधानका लागि केवलकार सञ्चालन गर्ने अवधारणासमेत अघि बढाएको छ । निजी क्षेत्रले समेत चासो देखाएपछि सरकारले उपत्यकाका सडकमाथि 'अर्वन केवलकार' सञ्चालन गर्ने अवधारणा अघि सारेको हो । यसको बृहत् सम्भाव्यता अध्ययन गर्न भौतिक तथा योजना निर्माण मन्त्रालयले फ्रान्स सरकारलाई अनुरोध गरेको छ ।



मन्त्रालयका सचिव तुलसी सिटौलाका अनुसार दुई साताअघि फ्रान्स राजदूतावासमार्फत त्यहाँको सरकारलाई काठमाडौंका सडकमाथि केवलकार सञ्चालन गर्न बृहत् अध्ययनको अनुरोध गरिएको हो । 'फ्रान्सबाट प्रतिक्रिया आएको छैन, आउने प्रक्रियामा होला,' उनले भने, 'राजदूतलगायत फ्रान्स सरकार सकारात्मक रहेको बुझिएको छ ।' सिटौलाका अनुसार फ्रान्सका केही लगानीकर्ता र नेपालका निजी क्षेत्रले अर्वन केवलकार सञ्चालन गर्नेबारे चासो देखाएका छन् । त्यसपछि अध्ययनका लागि सरकारले पनि प्रक्रिया अघि बढाएको हो ।

यता, निजी क्षेत्रद्वारा स्थापित 'काठमाडौं एयर ट्रम एन्ड केवलकार प्रालि' ले सञ्चालन अनुमतिका लागि केहीअघि सरकारसँग प्रस्ताव गरेको थियो । उक्त कम्पनीले पनि सामान्य अध्ययन गरेर सम्भाव्य हुने ठहर्‍याएपछि सरकार पनि अग्रसर भएको हो । 'उक्त कम्पनीले सामान्य प्रकृतिको अध्ययन गरिसकेको रहेछ,' उनले भने, 'सम्भावना देखिएकाले थप प्रक्रिया अघि बढाइएको हो ।' उक्त कम्पनीले लगनखेलदेखि नारायणगोपलचोक र बौद्धदेखि कुलेश्वरसम्मको सडकमाथि केवलकार सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावअनुसार गाडीमा १ घन्टा लाग्ने बाटो केवलकारबाट १५ मिनेटमा पुग्न सकिने उल्लेख छ । 'व्यस्त सहरमा केवलकार सञ्चालनमा फ्रान्स सफल मुलुक मानिन्छ,' सिटौलाले भने, 'त्यसैले सरकारले उसैसँग सवन्वय गर्न लागेको हो ।' यस्तै प्रकृतिको केवलकार नेपालमै पनि सफल मनिएको छ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन गरेको केवलकार मुलुककै उदाहरणीय हो । 'सडकमाथि सञ्चालन गर्ने केवलकार मनकामनाकै जस्तै हो,' सिटौलाले भने । धेरै विकसित मुलुकले ट्राफिक जाम कम गर्न सडकमाथि केवलकार सञ्चालन गरेका छन् । कम्पनीका अनुसार केवलकारका लागि सडक छेउमा छुट्टै खम्बा खडा गर्नुपर्छ ।

निश्चित दूरीमा यात्रु चढाउने र ओराल्न संरचना बनाउनुपर्ने हुन्छ । एक रुटमा कतिवटा डिब्बा हुने र कतिजना यात्रुलाई सेवा दिने भन्ने विषय बृहत् अध्ययनपछि निर्धारण गरिने कम्पनीले जनाएको छ । 'प|mान्सका प्राविधिकहरूकै समन्वयमा कम्पनी स्थापना गरी काम अघि बढाएका हौं,' कम्पनीका अध्यक्ष श्याम श्रेष्ठले भने, 'यहाँ अनुमति पाए पनि नपाए पनि अन्य देशमा यातायातमै लगानी गर्ने पक्षमा छौं ।

' कम्पनीकी कार्यकारी निर्देशक एवं उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाका अनुसार आफ्नो प्रस्तावअनुसार सरकार र अन्य निकायले सहयोग गरे २ वर्षभित्र केवलकार सञ्चालन हुनेछ । 'सरकारसँग मिलेर वा हामी एक्लै पनि सञ्चालन गर्न तयार छौं,' राणाले भनिन्् । यसको लागत १३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यो आयोजना सम्भाव्य र उत्कृष्ट भएकाले धेरै प्रतिष्ठित घराना लगानी गर्न तयार गरेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार राणा, पञ्चकन्या गु्रपका प्रदीप श्रेष्ठ, लक्ष्मी गु्रपका लक्ष्मण श्रेष्ठ र आईएमई गु्रपका चन्द्र ढकालले लगानी गर्ने अनौपचारिक सहमति जनाएका छन् । 'त्यसमा प|mान्सका केही संघसंस्था वा निजी कम्पनीको संलग्नता पनि हुनेछ,' उनले भने, 'त्यहाँको सरकारले पनि चासो देखाएको छ । सरकारले नै लगानी गर्ने विषयमा पनि छलफल भइरहेको छ ।' प्रदूषण नहुने भएकाले वातावरणमैत्री हुने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र छलफलको चरणमा रहेको मेट्रो रेलको निर्माण लागतभन्दा निकै सस्तो हुने दाबी प्रस्तावकको छ ।

'सरकारले मेट्रो रेलको लागतको तुलनामा अर्वन केवलकार यो निकै सस्तो र कम समयमा निर्माण हुने पनि देखिएको छ,' राणाले भनिन््, 'जसले बनाए पनि उपत्यकाको सहरका लागि यातायात साधनमा केवलकारै उपयुक्त हो भन्ने सुझाब हामीले सरकारलाई दिएका छौं ।' निर्माण भइसकेका पोल, डब्बा र यात्रु चढाउने ओराल्ने ठाउँमा चाहिने सामग्री निर्माण भइसकेकै आउने भएकाले केवलकार संरचना निर्माण गर्दा सडक र अन्य संरचनालाई कुनै असर नगर्ने कम्पनीले जनाएको छ ।