नम्बर १ भनाउँदा कलाकारले नाङ्गीएर सिने नगरी बिगारे : रोज राणा

नेपाली सिनेमा क्षेत्रको अवस्था दिनानुदिन खस्किएको छ । सिनेमा चल्न छोडेका छन्, लगानी गर्नेहरु पनि चिन्तित छन् । सिनेमा नचल्नुको पछाडी कलाकारहरुको हात सबैभन्दा ठूलो रहेको आरोप पनि लाग्ने गरेको छ ।



नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष रोज राणले नम्बर १ भनाउँदा कलाकारले सिने नगरी ध्वस्त बनाएको आरोप लगाएका छन् । चलचित्र क्षेत्रमा आफूलाई नम्बर १ को पगरी गुथाउँने कलाकारहरुले सस्ता र सी ग्रेडका सिनेमा खेलेकै कारणले यस्तो अवस्था आएको उनको तर्क छ ।

अनलाइनखबरसँग कुरा गर्दै रोजले भने, ‘चलचित्रको प्रोमो घरमा बसेर हेर्ने हो भने नम्बर १ भनाउँदा कलाकारहरुलाई देख्दा नै लाज लाग्छ ।’ ‘आफू चलेको र स्टार भन्ने अनि सिनेमामा लाजमर्दो दृश्य दिन पनि पछि नहट्ने कलाकारहरुले गर्दा नै दर्शक भड्किएका हुन्’, रोजले भने ।

‘निर्माताहरु सकेसम्म कम बजेटमा राम्रो रकम कमाउँन चाहन्छन् तर कलाकारहरुले कमसेकम आफ्नो हैसियत बिर्सन नहुने हो, तर यहाँ यस्तै छ’ रोजको तर्क छ । चर्चित कलाकारहरुले छानेर स्तरिय सिनेमा खेलिदिएको भए यस्तो अवस्था नआउने उनको भनाई छ । ‘पैसाका लागि जस्तो सिनेमा पनि खेल्नु हुदैन, आफ्नो स्टारडम बिर्सन हुदैन भन्ने ज्ञान यहाँका कलाकारलाई छैन, यसैले सिने नगरी ध्वस्त भयो’ रोजले भने ।

पछिल्लो समय नेपालका चर्चित नायकहरुले सामान्य भन्दा सामान्य भूमिकामा अभिनय गर्दा दर्शक हलसम्म जान छोडेका छन् । अर्कोतिर दर्शकले आदर्श पात्रको रुपमा हेरेका नायिकाहरुले उच्छृखल दृश्य चलचित्रमा दिन थालेपछि दर्शक टाढिएको विश्लेषण गर्न थालिएको छ ।
onlinekhabar