मुन्द्रेकी पत्नी एक्कासी सुटिङ स्पटमै पुगेपछि…

काठमाडौं, असार २ – शनिबार काठमाडौको जडीबुटी नरेफाँटमा टेलिचलचित्र जिरे खुर्सानीको सुटिङ हुँदै थियो । सुटिङ्गमा ब्यस्त कलाकारहरु शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल, सविता गुरुङ अचम्ममा परे । सुटिङ स्पटमा एक्कासी झुल्किएकी पत्नी मुना रावतलाई देखेर जितु नेपाल झन् छक्क परे ।



“ए तपाईहरु आईसक्नुभएछ म त आउदा आउदै ढिलो भयो” मुना भन्दै थिइन् । रेडियो अडियोको टोली र मुना त्यहाँ किन पुगे सबै कौतहुलपूर्वक हेर्दै थिए । “ह्याप्पी बर्थ डे बुढा” मुनाले यतिमात्र के भनेकी थिइन् अरुले पनि जितु नेपाल उर्फ मुन्द्रेलाई जन्मदिनको शुभकामना दिन थालिहाले । “सोचेकै थिइन यस्तो सरप्राईज केक आउला भनेर” जन्मदिनमा रेडियो अडियोले लगेको केक काट्दै मुन्दे्रले भने “मैले त झन्डै आफ्नै जन्मदिन नै भुलेछु ।”

नक्कली मुन्द्रा र सिसा नभएको चस्मा लगाएका उनी हेर्दा पच्चीस बर्षे ठिटो झै देखिन्थे ।

जन्मदिनको सरप्राईज केक काटेर मुनालाई खुवाउदै गर्दा मुनाले उनलाई फेरि पनि जन्मदिनको शुभकामना दिंदै आइ लभ यु बुढा भन्दा, जीतु नेपालले हाँस्दै भने “ओहो म त मर्ने भएँ अब ।” जितुलाई जन्मदिनको शुभकामना दिदै शिवहरि पौडेलले उमेर घटाउने सल्लाह दिए ।

“जितुको प्रत्येक बर्ष उमेर बढ्दै गइराखेको छ, अब आउने बर्षदेखि उसले उमेर घटाउनु पर्छ” लामो हाँसो सँगै शिवहरिले भने “पोहोरको भन्दा यसपाली एक बर्ष बुढो भयो, अर्को साल अझै बुढो होला, उसले उमेर चाही कन्ट्रोल गर्नुपर्छ ।”

हाँस्यकलाकार जितु नेपाल जिरे खुर्सानीका एक निर्देशक हुन् । २०३२ सालमा जन्मिएका जितु नेपाल विरलै आफ्नो जन्मदिन घरमा मनाउँछन् । यसबर्ष सुटिङमै जन्मदिन मनाएका जितुले गतबर्ष पर्वतको रानीपानीमा एक अपाङ्ग परिवारलाई आर्थिक सहयोग गरेर जन्मदिन मनाएका थिए । टेलिभिजनको पर्दामा लक्का जवान देखिने जितु एक छोरा र एक छोरीका पिता हुन् । जितले मुन्द्रेको रुपमा पर्दामा देखिन थालेको ९ बर्ष भन्दा बढी भइसक्यो ।