दुई करोड मूल्य बराबरको रक्तचन्दन बरामद

रसुवा, १५ असार । कन्टेनरको डिब्बामा लुकाइछिपाई चीनतर्फ निकासी गर्न लागिएको दुई करोड मूल्य बराबरको रक्तचन्दन प्रहरीले शुक्रबार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बा३ख ७१५८ नम्बरको कन्टेनरमा चालक पछाडिका भागमा छुट्टै ठाउँ बनाई लुकाई लगेका अवस्थामा रसुवागढी सीमा प्रहरी चौकीले करिब एक हजार केजी रक्तचन्दन बरामद गरेको हो । गाडीमा रहेको १ सय बोरा मैदा, एक हजार कार्टुन चाउचाउ र १० बोरा खुर्सानीसहित गाडी पनि बरामद गरिएको छ ।



रक्तचन्दन ओसारपसार कार्यमा संलग्न रहेको आशंकामा चालकसहित चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले बताउनुभयो । उक्त रक्तचन्दनको मूल्य चीनको अन्तर्राष्ट्रिय बजारमा करिब दुई करोड बराबर हुन सक्ने अनुमान छ ।