ठगीको आरोपमा रेजिनालाई मुद्धा ! रेजिना भन्छिन्- `कानुनी रुपमा म बलियो छु`

निर्मात्री कविता श्रेष्ठले ठगीको आरोपमा नायिका रेजिना उप्रेती विरुद्ध हनुमान ढोकामा मुद्धा दायर गर्ने भएकी छिन् । वरदान फिल्मबाट घाटा भएपछि सो घाटाको हिस्सेदार हुन रेजिनाले नमानेको भन्दै कविताले निर्माता संघमा मुद्दा दर्ता गराएकी छिन् ।



कविताले दर्ता गराएको मुद्दा उपर भोली निर्माता संघको कार्यालयमा न्यायिक समितीको बैठक बस्ने बुझिएको छ । बैठकमा दुई पक्ष बिच सहमती हुन नसके कविताले कानुनी उपचारका लागि हनुमानढोका जाने बताईन् । निर्माता संघले कविताको मुद्दा ३२२९ नम्बरमा दर्ता गरेको जनाएको छ ।

आवश्यक कागजपत्र व्यवस्थापन गर्दैं गरेकी निर्मात्री श्रेष्ठले भनिन्- ‘घाटा नाफा जे भएपनि आधा आधा वेहोर्ने सहमती भएको थियो । तर फिल्म फल्प भएपछि रेजिना सम्पर्कबाट आउट छिन् । मेरो फोन र म्यासेजको रिप्लाई समेत गर्दिनन् ।’ निर्मात्री श्रेष्ठका अनुसार वरदानको निर्माण कम्पनी ‘रेजिना फिल्मस’ राख्ने र लगानी सबै कविता आफैले गर्ने सहमती भएको थियो ।

‘१५ लाख भन्दा माथिको लगानीमा रेजिनाले २४ प्रतिशत ब्याज तिर्ने कागजी सहमती भएको छ,’ सम्झौता बारे कविताको भनाई छ- ‘फिल्मको पब्लिसीटि सहित भएको पचास लाख खर्च मध्ये च्यारेटी सो, डिष्ट्रीव्युटर, सिडी राइट गरी पन्ध्र लाख मात्रै हातमा पर्ने मेरो हिसाब छ । रेजिनासँग बाँकी ३५ लाखको हिसाब बाँकी नै छ ।’ ३५ लाखको हिसाबमा रेजिनाले व्याजसहित २० लाख बराबर रकम बुझाउनुपर्ने कविता बताउँछिन् । ‘फिल्म चाहि आफ्नो नाममा बनाउने घाटा चाहि म खाने ?’



तर, नायिका उप्रेती भने निर्मात्री श्रेष्ठको आरोप मान्न तयार छैनन् । रेजिना फिल्मस् आफ्नो नाममा भएकाले आफुलाई कसैले मुद्धा हाल्न नसक्ने दाबी गर्दै रेजिना भन्छिन्- ‘रेजिना फिल्मस् मेरो नाममा छ । उहाँले मेरै नाममा भएको फिल्म निर्माण कम्पनी विरुद्ध कसरी मुद्धा हाल्न सक्नुहुन्छ ? कानुनी रुपमा म बलियो छु ।’ कविताले नामको लागि फिल्म बनाएको भन्दै रेजिना थप्छिन्- ‘मैले च्यारिटी र बिदेशमा प्रदर्शन गरेर पाँच लाख उठाईदिसकेकी छु । अब पैसा तिर्न सक्दिन ।’ यस्तै कविताले आफूसँग पब्लिसिटी देखि प्रदर्शनका कामहरूमा छलफल नगरी एकल निर्णय गरेको रेजिनाको भनाई छ ।

दुई पक्षबिच भएको घाटा नाफा दुवैले बराबर वेहोर्ने भन्ने सहमती पत्र आफुसँग सुरक्षित भएकाले निर्मात्री श्रेष्ठ भने रेजिना विरुद्ध मुद्धा हालेर वरदानमा लगाएको लगानी असुल उपर गराएरै छाड्ने बताउँछिन् ।