१२ बर्षे बालक ६ बर्षदेखि साङलोमा

२७ जेठ, मोरङ । जुम्ल्याहामध्येका एक बालकको मानसिक सन्तुलन गुमेपछि उनलाई अभिभावकले सिक्रीले बाँधेर राख्े गरेका छन् । मोरङको इन्द्रपुर ३, बिराटचोकका तुलसीप्रसाद अधिकारी र सुष्मिताले १२ बर्षको छोरा प्रवीणलाई यसरी राख्ने गरेका हुन् । सात बर्षदेखि खुट्टामा सिक्री बाँधी ताला लगाएर राख्ने गरिएका बालक हेर्दा सामान्य अवस्थामा जस्तै देखिन्छन् ।

‘नर्सरीमा भर्ना गरेको ६ महिनापछि स्कुलले तपाईको छोरा नपठाउनुहोस् भन्यो,’ आमा सुष्मिताले भनिन, ‘त्यो बेलादेखि यस्तै छ । बोल्दैन । कसैलाई चिन्दैन । खोलिदिए भाग्छ । बेपत्ता हुन्छ ।’ अधिकारी दम्पतीको पहिलो सन्ता जुम्ल्याहा जन्मिएका हुन् । दुई छोरामध्ये प्रवीण जेठा हुन् । ‘योसँगैको प्रवेशमा कुनै खोट छैन । सामान्य छ,’ बुबा तुलसीप्रसादले भने, ‘हामीले उपचार लागएर पनि केही गर्न सकेनौं । त्यसैले सिक्रीले बाँधेर राखेका हौं ।’

तुलसीप्रसाद नेपाल प्रहरीका भगौडा हुन् । माओवादी द्वन्द्वका समयमा उनलाई ज्यानको डर भएर नोकरी छाडेका थिए । जुम्ल्याहा छोराहरु अढाई बर्षका भएपछि वैदेशिक रोजगारमा लागि उनी मलेसिया गएका थिए । चार बर्ष काम गरेर फर्किएका उनी अहिले बेरोजगार जस्तै भएको कान्तिपुर दैनिकमा खबर छ । एकजनालाई त यसलाई नै हेर्दै ठिक्क हुन्छ, उनले भने । प्रवीण सानामा राम्रो भएपनि नजिकैको त्रिवेणी बोडिङमा नर्सरीमा पढ्दा पढ्दै विरामी भएको उनका बुबा आमाले बताएका छन् ।

सुरुमा झारफुक गरेपनि उनलाई निको नभएपछि डाक्टरकामा लगेर उपचार गराएपनि ठिक नभएको उनकी आमा सुष्मिताले बताइन् ।