दलित र गैरदलितवीच झडप, २४ घाइते

२६ जेठ, रौतहट । गाउँको ब्रहृमबाबा मन्दिरमा पूजा गर्ने विषयलाई लिएर रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविसमा दलित र गैरदलितबीच झडप हुँदा २४ जना घाइते भएका छन् ।दोस्तिया गाविस-५ भीमडावर टोलमा रहेको ब्रहृमबाबा मन्दिरमा गत वैशाख २८ गते झुमनराम चमारको छोरा उमेशराम चमारको बिहेमा पूजा गर्न गएका महिलामाथि गैरदलितहरूले अभद्र व्यवहार गर्दा सामान्य झडप भएको थियो ।



सोही विवादलाई लिएर शुक्रबार राति करिब ८ बजे दलित बस्तीमा लुटपाट गर्नुका साथै उनीहरूमाथि सामूहिक आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामूहिक आक्रमणबाट गुरुदयाल राम, पार्वतीदेवी राम, महावीर राम, सुनितादेवी राम र जितनीदेवी रामलगायत २४ जना घाइते भएका र उनीहरूको अनामिका अस्पताल गरुडा तथा जिल्ला अस्पताल गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामदेव राय यादव र उनका छोरा छोटेलालप्रसाद यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सदरमुकाम ल्याइएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो । सो घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताउनुभयो । रासस