कपडा, जुत्ताचप्पल सबै छाडेर बेपत्तासँग भाग्यौं
लिलाराम खनाल – मेरो घर बर्दियाको नौलापुर गाविस ९ मा पर्छ । म काम गर्नका लागि भारतको उत्तराञ्चल राज्यको केदारनाथमा पुगेको थिएँ । त्यहाँ असारको पहिलो हप्ता कसैले नसोचेको भवितब्य भयो । वर्षा पछि आएको बाढीमा परेर धेरै मान्छेको ज्यान गयो, ठाउँ सबै बगायो ।
बाढी आएको अघिल्लो दिन केदारनाथमा थिएँ । बाढी आएको दिन गौरीकुण्डमा थिएँ । पहिले हामी बसेको जमिन हिलो भयो । त्यसपछि एउटा रुख नै गयो, रुख गएपछि अब अरु पनि बगाउन सक्छ भनेर आत्तिएर भाग्यौं । कपडा, जुत्ता चप्पल सबै छोडेर वेपत्तासंग भाग्यौं । गौरीकुण्डभित्रै बाढीले तीनवटा घर बगायो ।
धन्न नजिकैको पुलिसको क्याम्पमा गएर बाँचियो । पछि त पुलिस क्याम्प पनि जान लाग्यो अनि फेरि भागेर एउटा गौशालाभित्र बसेर बाच्यौं, तीनदिनसम्म त्यहीँ बस्यौं । त्यसपछि अरु तीन दिन पनि जंगलमा नै विताउनु पर्यो । त्यो ६ दिनसम्म केही खान पाएनौं ।
मेरो साथमा केटाकेटीहरु पनि थिए । मसँग भएकाहरु सबै बचे । केदारमा भएकाहरु धेरैको ज्यान गयो भन्ने सुनेँ । धेरै नेपालीहरु पनि थिए । बाढी रोकिएपछि हेर्दा जताततै शबहरु थिए । गन्ती नै भएको छैन ।
६ दिनसम्म भोकै बस्यौं । माथिबाट हेलिकप्टरले विस्कुट फाल्दा जसको हातमा जति पर्यो त्यही खाएर बस्यौं । विस्कुटको धुलो कुखुरालाई चारा जस्तै भयो । त्यही पाउँदा पनि बचिन्छ भन्ने आश लाग्यो । त्यतिखेर म आधा होस आधा बेहोस् जस्तो थिएँ । अहिलेसम्म मेरो दिमाग पूरा आएको छैन ।
मलाई भारतका आर्मीहरुले उद्दार गरे । उनीहरु नभएको भए बच्न पनि मुश्किलै हुन्थ्यो होला । उनीहरुले माथि डोरीमा समाएर तल मुढामा टेकेर बाढीबाट निस्किन सिकाए । म बल्ल बल्ल त्यसरी उत्रिएँ । यसरी नयाँ जीवन पाएँ ।
मलाई भारतका आर्मीहरुले उद्दार गरे । उनीहरु नभएको भए बच्न पनि मुश्किलै हुन्थ्यो होला । उनीहरुले माथि डोरीमा समाएर तल मुढामा टेकेर बाढीबाट निस्किन सिकाए । म बल्ल बल्ल त्यसरी उत्रिएँ । यसरी नयाँ जीवन पाएँ ।
मसँग गएको दैलेखको एउटा केटो अझै बेपत्ता छ । यता फर्किसक्यो की उतै छ केही थाहा छैन । जब हामी बाढीबाट बाँच्यौं पुलिसले गाडी चढाएर नेपाल पठायो । म यस्तो दुर्घटना परँे बाबु भनेर सबै कुरा बताएँ । उनीहरुले बसमा चढाइदिए । बसवालाले पनि भाडा लिएन ।
त्यस्तो महाप्रलयबाट बाँचेर घर फर्किदा धेरै खुशी लागेको छ । अहिले यहाँ परिवारसँगै बसेको भएपनि अझै पनि बेला बेला त्यहाँको दुख सम्झिएर झस्किन्छु । दुर्घटना सम्झिँदा अझ होस गुमेको जस्तो हुन्छ ।