अहिले यस्तो छ दार्चुलाको अवस्था ! ७२ घर बगे, २ हजार ५ सय विस्थापित, विद्युत् र सञ्चार अवरुद्ध

दार्चुला, ४ असार । (अपडेट) तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन् । सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन् ।



घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरुपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले राससलाई बताउनुभयो । अहिले पानी पर्ने क्रममा केही कमी आएको र महाकाली नदीको बहावमा समेत कमी आए पनि नदीले कटान भने तीब्ररुपमा गरिरहेको उहाँले बताउनुभयो । नदीको कटान नरोकिएकाले अझै क्षति बढ्न सक्ने उहाँले बताउनुभयो । “घरवारविहीनताको अवस्थामा पुगेका परिवारलाई विद्यालय र सुरक्षित स्थानमा रहेका घरहरुमा बस्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले सबैभन्दा बढी क्षति खलङ्गा गाविस–५ बाँगाबगड र गल्फैमा पु¥याएको छ । सदरमुकाम नजिक रहेको कालागाड जलविद्युत् परियोजनको विद्युत्गृह नदीले बगाएपछि त्यहाँ दुई दिनदेखि विद्युत् सेवासमेत ठप्प रहेको छ । विद्युत् सेवा ठप्प भएसँगै सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

जिल्ला सदरमुकाम खलङ्गा जोड्ने सडकको ठाउँ ठाउँमा पहिरो जाँदा यातायात सेवासमेत पूर्णरुपमा अबरुद्ध भएको छ । उकू र दत्तु गाविस जोड्ने दुई वटा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ ।

पानीको सतह पुरै नघटेकाले यहाँका बासिन्दा अझै आतङ्कित अवस्थामा रहेका छन् । भारतले धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध फुट्न लागेको भन्दै बाँध खोलेपछि दार्चुला क्षेत्रमा भीषण बाढी आएको स्थानीयको भनाइ रहेको छ ।

यसैगरी, डडेल्धुराको सिमल जाला क्षेत्र र परिगाउँ क्षेत्रका दुई दर्जनभन्दा बढी घर महाकाली नदीमा आएको बाढीले डुवानमा परेका छन् । ईप्रका जोगबुढाका अनुसार त्यस क्षेत्रबाट हालसम्म तीन परिवार विस्थापित भएका छन् ।

सिरहाका एक्काइस गाविस बाढीको उच्च जोखिममा

सिरहा । नदीको छेउमा तटबन्ध नबनाएका कारण भारतीय सीमा नजिक रहेका सिरहाका २१ गाविस बाढीको उच्च जोखिममा परेका छन् । सिरहाका ४० वटा गाविस बाढीले बगाउने जोखिम क्षेत्रका रुपमा लिइएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाले जनाएको छ । त्यसमध्ये सीमापारी लदनियादेखि दरहियासम्मको दुई किलोमिटरको तटबन्ध र कमला, मैनावती, गागन नदीमा भरपर्दो तटबन्ध नबनाइएकाले ती गाविस उच्च जोखिममा परेका छन् ।

नदीमा आउने बाढीले ती गाविस बगाउन सक्ने सम्भावना रहेको नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेव यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “ती गाविस नजिक रहेका नदीका धेरै स्थानमा तटबन्ध नभएकाले र भएका पनि ज्यादै कमजोर रहेकाले त्यहाँको अवस्था अत्यन्त गम्भीर छ ।”

उच्च जोखिममा पर्ने अन्य गाविसहरुमा औरही, माडर, लगडीगोठ, लगडी गढियानी, चिकना, बरियारपट्टी, सारस्वर, अर्नमा प्ररालगायतका छन् । बाढीबाट उच्च जोखिममा रहेका २१ गाविसका करिब १० हजारभन्दा बढी जनता प्रभावित हुनेछन् ।

वर्षाका कारण यातायात अवरुद्ध, जनजीवन प्रभावित

उदयपुर । गएरातिदेखि भएको वर्षाका कारण उदयपुर जिल्लाको जनजीवज प्रभावित भएको छ । निरन्तरको वर्षासँगै स्थानीय नदी, नालाहरुमा बाढी आएकाले जिल्ला सदरमुकाम गाईघाटदेखि पूर्वीभेग चल्ने सम्पूर्ण यातायातका साधन अवरुद्ध भएका छन् । सदरमुकामदेखि बेल्टार, बसाहा, ठोक्सिला तथा जोगिदह र हँडिया क्षेत्र हुँदै सप्तरीको फत्तेपुरसम्म सञ्चालन हुने सम्पूर्ण यातायातका साधनहरु वर्षाका कारण बन्द भएको यातायात व्यवसायी डम्बरसिंह खड्काले बताउनुभयो ।

यस्तै गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र साउने, खाबु, रौता, मुर्कुची सञ्चालन हुने यातायातका साधनहरु पनि वर्षाका कारण बन्द भएको व्यवसायीहरुले जनाएका छन् । यता जिल्लाकै पश्चिमी भेगको कटारी क्षेत्रबाट पहाडी क्षेत्र रुपाटार, ओख्ले, बाहुनीटारमा सञ्चालन हुने यातायातका साधनहरु पनि वर्षाका कारण बन्द भएको कटारीका यातायात व्यवसायी महेश कार्कीले बताउनुभयो ।

निरन्तर वर्षा हुन थालेपछि जिल्लाको पूर्वी भेगमा डुबान हुने सम्भावना बढेर गएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । वर्षाको कारण स्थानीय बासिन्दासमेत घरभित्र नै बस्न बाध्य भएका छन् । गाईघाट बजारलगायतका क्षेत्रमा शैक्षिक सङ्घ संस्था खुले पनि वर्षाको कारण विद्यार्थीहरु विद्यालय जान सकेका छैनन् ।

वर्षासँगै म्याग्दीका ग्रामीण यातायात अवरुद्ध

म्याग्दी, ४ असार । निरन्तरको वर्षासँगै म्याग्दीका ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनहरु बन्द भएका छन् । सदरमुकाम बेनीदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका ग्रामीण सडकका विभिन्न ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको म्याग्दी बस तथा जिप सञ्चालन समितिका सचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

बेनीदेखि निरन्तर सञ्चालन हुँदै आएको झिँ, कुहूँ, राखु, भकिम्ली, शिख, बरङ्जालगायतका ग्रामीण भेगसम्म पुग्ने सडकहरु अहिले अवरुद्ध बनेका छन् । बेनी–पाखापानी सडकखण्ड त जेठ महिनादेखि नै सिधा सञ्चालन हुन नसकेको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ । २५ किलोमिटर उक्त सडकखण्डअन्तर्गत झीँ, घतानलगायतका स्थानमा ढुङ्गा र माटो खसेको समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसैबीच बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि सिधा यातायात अवरुद्ध बनेको छ । गन्तव्यमा पुग्न सवारीसाधन परिर्वतन गर्दै जानुपर्ने भएकाले यात्रुहरु मर्कामा परेका छन् ।

बेनीदेखि पश्चिम दरबाङसम्मको २६ किलोमिटर सडकखण्डअन्तर्गत फापरखेत र लाम्पाटामा पहिरो खसेपछि दुई ठाउँमा सवारी साधन परिवर्तन गरी यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पहिरोका कारण पश्चिम भेगका १५ गाविसका सर्वसाधारण मर्कामा परेका छन् । बेनी–जोमसोम सडकखण्डमा दैनिक १०० भन्दा बढी बस तथा जिप ओहारदोहोर गर्ने गर्दछन्

पहिरोले घर गोठ बगायो

अर्घाखाँची, ४ असार । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण आएको पहिरोले अर्घाखाँचीको अर्घा गाविस वडा नं–४ नौलापानीमा चिरन्जीवी भुसालको घर गोठ बगाएको छ । घरगोठ बगाउँदा मानवीय क्षति नभए पनि धनमाल, लत्ताकपडा र खाद्यान्न गरी करिब रु ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
source:naya khabar