नेपालका ७९ नेपालीलाई विश्वभरका प्रहरीले खोज्दैछन्










१० जेठ, काठमाडौ । विश्वमा विभिन्न देशमा गम्भीर प्रकृतिका अपराध गरेर भाग्ने नेपालीको संख्या बढिरहेको छ । अदालतले समेत दोषी ठहर गरी रेडकर्नर सूचीमा पर्ने नेपालीको संख्या दुई बर्षमा दोब्बर भएर ७९ पुगेको छ ।

विश्व अपराध प्रहरी संगठन (इन्टरपोल)ले ७९ जना नेपालीलाई मोस्टवान्टेड सूचीमा राखि खोजी गरिरहेको छ । दुई बर्षअघिसम्म करिब ४० जना नेपाली रेडकर्नरमा भएकोमा हाल त्यो संख्या दोब्बर पुगेको छ ।

खासगरी भारत तथा खाडि मुलुकमा नेपाली रेडकर्नर सूचीमा रहेका छन् । ७९ मध्ये ११ जनालाई नेपाल प्रहरीको अनुरोधमा र बाँकीलाई अन्य देशको अनुरोधमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो । रेडकर्नर सूचीमा परेका व्यक्तिलाई विश्वका जुनसुकै देशले पनि पक्राउ गर्न सक्छ ।

इन्टरपोलले दिएको जानकारी अनुसार मोस्टवान्टेड सूचीमा पर्ने नेपालीहरु मध्ये सबैभन्दा बढी भारतमा रहेका छन् । भारतमा २५ जना मोस्टवान्टेडको सूचीमा रहेका छन् । यस्तै, कतारमा २० जना, युएईमा १४ जना, नेपालमै ११ जना, साउदी अरबमा ३ जना, अमेरिकामा ३ जना र इटाली, बेलारुस तथा बहराइनमा १/१ जना रहेका छन् ।