तालिम नै गर्न नसक्नेहरु सशस्त्रमा भर्ना ?

१३ जेठ, काठमाण्डौं । सशस्त्र प्रहरी बलको जवान भर्नामा व्यापक अनियमितता भएको तथ्य फेला परेको छ । मुलुकभर विभिन्न युनिटबाट छनोट भएकामध्ये १ सय ४० जवानले तालिम नै गर्न नसकेपछि अनियमितता भएको तथ्य खुलेको हो । स्रोतका अनुसार मुख्यालयलाई छल्दै सम्बन्धित युनिटले स्वास्थ्य मापदण्डभन्दा बाहिर गएर भर्ना गरेका कारण ती जवानले तालिम गर्न नसकेका हुन् । छनोटमा परेका १ सय ४० जवानमा गम्भीर स्वास्थ्य समस्या रहेकोसमेत पाइएको छ । सोही कारण उनीहरूलाई तालिमबाटै फिर्ता बोलाई अनुसन्धान थालिएको छ ।



छनोट भएका जवानले तालिम गर्न नसकेको र स्वास्थ्यमा समेत खराबी रहेको भन्दै सम्बन्धित तालिम केन्द्रबाट मुख्यालयमा लिखित जानकारी आएपछि उनीहरूलाई फिर्ता बोलाई बयान लिन सुरु गरिएको हो । सशस्त्र मुख्यालय उच्च स्रोतका अनुसार जवानको स्वास्थ्यमा गम्भीर समस्या रहेकाले भर्ना छनोटमा संलग्न प्रहरी अधिकृत र सम्बन्धित गुल्मपतिहरूमाथि पनि आन्तरिक छानबिन थालिएको छ ।

उनीहरूको अनियमितता छानबिनकै क्रममा मापदण्डभन्दा बाहिर रहेका सिपाहीहरूलाई बलको मुख्यालयमा बोलाएर सोधपुछ सुरु गरिएको स्रोतले बतायो । सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणबाबु थापाले केही सिपाहीहरूको स्वास्थ्यमा समस्या देखिएको बताए । ‘उनीहरूमा छारे रोग, औंला बांगा तथा ढाड र कम्मरमा समेत समस्या रहेको पाइयो, हामी आन्तरिक छानबिनमा छौं,’ डीआईजी थापाले भनेको राजधानी दैनिकमा खबर छ । गत माघमा सशस्त्र प्रहरी बलले २ हजार २ सय ५० जना सिपाही रिक्रुट गर्न नयाँ भर्ना अभियान सञ्चालन गरेको थियो ।

झन्डै १ सय ५० जना लुला, लंगडा, हातखुट्टामा समस्या भएका र दीर्घरोगीहरू छानिएर तालिममा गएपछि बलको मुख्यालयमा रहेका उच्च अधिकारीहरूबीच नै यसलाई सीमित राख्ने र सूचना नचुहाउने प्रतिबद्धता गरिएको थियो । स्रोतका अनुसार चैतबाट तालिममा गएका ती सिपाहीहरूले तालिम गर्न नसकेपछि बलको मानव स्रोत विभागले डेढ महिनामै मुख्यालयमा फिर्ता बोलाएर सोधपुछ गरिरहेको छ । आर्थिक प्रलोभनमा परी संगठनको नीतिभन्दा बाहिर गएर गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिलाई समेत छानेको पाइएपछि सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) पुष्पराम केसीको संयोजकत्वमा आन्तरिक छानबिन समिति गठन गरिएको छ । अयोग्यलाई छनौट गरिएको विषयप्रति सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले गम्भीर चासो व्यक्त गर्दै छानबिन समितिसमेत गठन गरेका छन् । उनी दोषीमाथि कारबाही गर्न कडा मनस्थितिमा पुगेका छन् ।

सशस्त्र मुख्यालय स्रोतले यस पटक भर्ना भएका रिक्रुट सिपाहीहरूमध्ये केहीको दाँत झरेको समेत फेला परेको छ । सशस्त्रको मानव स्रोत विभागले छनोटकै बेला अनुगमनका लागि केन्द्रबाटै सबै क्षेत्रमा टोली पठाएको थियो । ‘अनुगमन टोलीमा गएका व्यक्तिले गलत रिपोर्टिङ गरेको देखियो,’ स्रोतले भन्यो, ‘यसमा मानव स्रोत विभाग दोषी छ ।’ सशस्त्र प्रहरी बलका प्रवक्ता थापाले पनि समस्या देखिएपछि तत्कालै छानबिन समिति बनाइएको बताए । उनले भर्ना भएका केही सिपाहीमा छारे रोग देखिएको, कसैका औंलामा समस्या देखिएको, कसैको खुट्टामा केही समस्या देखापरेको बताउँदै त्यस्ता व्यक्तिको सिफारिस गर्ने र अनुगमन गर्नेमाथि कारबाही गरिने जानकारी दिए ।