पार्टीमा ‘फेयर एण्ड लभ्ली’ दल्दै प्रचण्ड कस्मेटिक प्रचार बढी, संगठनचाँहि तहस-नहस


जेष्ठ ५,राजनीतिक टिप्पणी। शरीरचाँहि कहिल्यै ननुहाउने तर अनुहारमा मात्रै ‘फेयर एण्ड लभ्ली’ दल्यो भने कस्तो होला ? यतिबेला एकीकृत नेकपा माओवादीको संगठनात्मक स्वरुप यस्तै देखिएको छ । पार्टी नेताहरु लक्की शेर्पा, रामचन्द्र झा, उर्मिला अर्याल र रेखा थापालाई देखाएर पार्टीमा जनउभार बढेको बताउन खोजिरहेका छन् । तर, राज्यसमिति र जिल्ला समितिका कार्यकर्तामा भने चरम निराशा र अन्यौल बढिरहेको छ । प्रत्येक राज्य समिति र जिल्ला समितिमा सयभन्दा बढी सदस्य छन्, तर उनीहरु न बैठक बस्छन्, न गाउँ तहसम्म संगठन विस्तारमा खटिन्छन् । सिंगै पार्टी जाम भएर बसेको ढलजस्तो बनेको छ ।



वैसाख १८ गते एमाओवादी अध्यक्ष प्रचण्ड इटहरीको जनसभामा रामचन्द्र झा र लक्की शेर्पा समेतलाई लिएर पुग्नुभयो । बाबुराम भट्टराईसमेतका नेताहरुले ठूलो ठूलो भाषण सुनाए । भोलिपल्ट १९ जिल्लाका कार्यकर्तालाई धरानमा भेला पारेर केही घण्टा प्रशिक्षण दिइयो । प्रशिक्षण के भन्नु, केही नेताहरुले भाषण सुनाएर फर्के । इटहरी र धरानमा नेताको भाषण सुन्न बस रिजर्भ गरेर भेला भएका जिल्ला समितिका कार्यकर्ताहरु यतिबेला सोही कार्यक्रमका कारण ऋणमा परेका छन् । नेताहरुले प्रशिक्षण दिएर फर्केपछि पूर्वका १९ जिल्ला र तिनवटै राज्य समितिको न कुनै बैठक बसेको छ, न मातहतका कमिटीहरु प्रणालीगत रुपमा परिचालन भएका छन् । बाहिर-बाहिर भाषण ठोकेर हिँडेपछि त्यतिकै भरमा चुनाब जितिन्छ भन्ने भ्रममा नेताहरु परेका छन् ।

लोकमान प्रकरणले कार्यकर्तामा थप निराशा

धरानमा पेरिसखोल्सीको उद्घाटन गरेर काठमाडौं फर्केकै हप्ता लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाइयो । तर, यो प्रकरणले एमाओवादीका तल्लो स्तरका कार्यकर्तामा फेरि चिसोपानी अन्याएको छ । नेताहरु रेखा थापा र उर्मिला अर्यालतिरै अल्मलिइरहेका छन् । गाउँतहसम्म संगठन विस्तार गर्ने र कार्यकर्ताको मनोवल बढाउने फुर्सद कसैलाई छैन ।

एकपटक तराईमा गरिएका क्षेत्रीय आमसभाहरुले पार्टीको अवस्तामा सुधार भएको भ्रम एकातिर छ भने अर्कातिर एमालेका केही मान्छेहरु पार्टीमा प्रवेश गराएर मिडियामा हल्ला चलाउँदैमा पार्टी बलियो भइरहेको भ्रम छ । तर, कार्यकर्ताहरु चाँहि यस्तै चाला हो भने यसपालिको चुनावमा एमाओवादी पार्टी दोस्रो या तेस्रो स्थानमा खुम्चिने विश्लेषण गर्न थालेका छन् । चीन या भारत डुलेर, उनीहरुसँग सम्बन्ध सुधार्ने कुरा गरेर या लोकमानदेखि रेखासम्मलाई गुन लगाएरमात्रै पार्टीको जनाधार नबन्ने कार्यकर्ताहरुको निश्कर्ष छ ।

पार्टीले उत्पादन बढाउने भने पनि कसरी बढाउने भन्नेबारे नेतृत्वले महाधिवेशन सकिएको ६ महिना बित्न लाग्दा पनि योजना दिन सकेको छैन । आर्थिक समस्याका कारण कार्यकर्तामा पलायन हुने क्रम बढ्दो छ । पुराना कार्यकर्ताहरु टिक्न नसकेर ठेक्कापट्टा, व्यापार बिजनेसतिर लाग्न थालेका छन् । उत्पादन विभागको जिम्मा प्रचण्डकै भागमा परेको छ । हेटौडामा सहकारीमार्फत् उत्पादन बढाउने भनिएकोमा अहिले भारत र चीनबाट लगानी भित्र्याएर देश बनाउने भन्न थालिएको छ । तर, यसबारे गाउँ, जिल्ला र क्षेत्रका मात्रै होइन, केन्द्रकै नेतासँग पनि कुनै स्पष्ट योजना छैन । चटक देखाएरै पार्टी धान्ने प्रयास भैरहेको छ ।

राजनीति टुनामुनाका आधारमा चल्दैन : भट्टराई

शायद एमाले नेता योगेश भट्टराईले गलत भनेका हैनन् कि ? एमाले नेता भट्टराई शनिबार कपनमा भन्दै थिए-’राजनीति जादू र टुनामुनाका आधारमा चल्दैन । प्रचण्ड नामको चटके आयो, डम्बरु बजायो । अब प्रचण्ड नामको चटके काम लाग्दैन । प्रचण्डले हल्लाएको जुल्फी, कुम र जुँगाको अब काम छैन ।’ भट्टराईको थप भनाइ थियो- ‘रत्नपार्कमा चटकेले डम्बरु बजाउँछ र कालो ट्याब्लेट बेच्दै भन्छ यो ट्याब्लेटले गानो गोला, ग्याटि्रक, पेट दुखेको सबै ठीक हुन्छ । हामी झुक्किएर त्यो ट्याब्लेट किनेर खान्छौं, तर त्यसबाट केही बिमार निको हुँदैन । प्रचण्डले बाँडेको ट्याब्लेट पनि त्यही कालो ट्याब्लेट जस्तै हो ।’

प्रचण्डमाथि एमाले नेता भट्टराईको आरोप दलीय आग्रहमा आधारित हुन सक्छ, तर यो कुराचाँहि साच्चै हो कि प्रचण्डलगायतका एमाओवादी नेताहरु जनताको घर दैलामा पुगेर, पार्टी शद्धीकरण गरेर वा नुहाएर सफा हुनेभन्दा पनि अनुहारमा क्रिम दलेर, चटक देखाएर र अनेक नाटक गरेर आफ्नो पक्षमा माहौल देखाउने अभियानमा छन् । यसको विपरीत उनीहरुको शरीर अर्थात् संगठन चाँहि यति अव्यवस्थित छ कि न कुनै योजना छ, न कुनै गति । विगतमा संगठनविनै जनउभारका कारण चुनावमा बढी सीट जितेको एमाओवादीले यसपालि जनउभार हैन, जनआधारका भरमा मात्रै जित्नुपर्ने चुनौती छ, जुन एमाओवादी नेताहरुले पटक्कै बुझ्न सकेको देखिँदैन ।