नेविसंघ र क्रान्तिकारीबीच रातभर झडप, दुई दर्जन घाइते

९ जेठ, बाजुरा । बाजुरा क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु र नेविसंघका विद्यार्थी बीच बुधबार राती झडप भएको छ । झडपमा परी दुवै पक्षका करिब २ दर्जन बढी घाइते भएका छन् । विद्यार्थी भर्ना प्रक्रियामा क्याम्पस प्रशासनको कमजोरी भएको भन्दै नेविसंघले क्याम्पसमा ताला लगाएपछि दुवै संगठनबीच विवाद सुरू भएको हो । विवादले उग्ररूप लिदा झडपको स्थिति सिर्जना भएको थियो । घाइतेमध्ये १५ जना भन्दा बढीको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भएको छ । घाइतेका टाढैबाट प्रहार गरिएका ढुङ्गा र सिसाका घाऊहरू रहेका छन् ।



सामान्य विवादलाई झडपको स्थिति सिर्जना गर्नमा दुवै संगठनले एक अर्कालाई दोष दिएका छन् । राती आठबजे तिर भएको झडपको सुरूवात अनेरास्ववियुले गरेको नेविसंघले आरोप लगाएको छ । नेविसंघ बाजुरा क्याम्पस इकाई कमिटि सभापति प्रेम रौलेले आफुहरू काँग्रेस पार्टी कार्यालयमा बैठक बसिरहेको बेला अनेरास्ववियुले आक्रमण गर्ने प्रयास गर्दा झडप भएको बताएका छन् । यता अनेरास्ववियुका अध्यक्ष जंग विकले भने खेलकुद मैदान नजिकै आफुहरु प्रेश विज्ञप्ती टाँसिररहेको अवस्थामा नेविसंघका विद्यार्थीहरुले ढुङ्गा र सिसाका बोतल प्रहार गर्दा झडप भएको बताएका छन् । उनले आफुहरूले आक्रमण गरेको भए, किन १० जना अनेरास्ववियुका विद्यार्थी घाइते हुन्थे उल्टै प्रश्न गरे ।

नेविसंघका साथीहरुले होटल भित्र आश्रयलिएर आफुहरुमाथि योजनावद्ध तरिकाबाट ढुङ्गा र वोतल प्रहार गर्दा अनेरास्वबियुका विद्यार्थी बढी घाइते भएकोले यसको जिम्मा नेविसंघले लिनु पर्ने विकले बताएका छन् ।

यता प्रहरीले पनि झडप नभई सामान्य विवाद भएको बताएको छ । विद्यार्थीहरु बीचको सामान्य असहमतिलाई लिएर विवाद मात्र भएकोले कोहि पनि घाइते नभएको बताएको छ । क्याम्पस बन्द रहेको बेला लगाइएको तालाबन्दी तथा अनेरास्वबियु र क्याम्पस प्रशासनको मिलोमतोमा एकलौटी भर्नाको विषयलाई लिएर अनेरास्वबियुले विना कारण आरोप लगाएको भन्दै विज्ञप्ती मार्फत विरोध जनाएको थियो ।

बुधबार रातीको झडपका बारेमा सहमति गर्न अहिले बाजुरा क्याम्पसमा सर्वपक्षिय बैठक बोलाएको सञ्चालनक समितिले बताएको छ । विना सूचना क्याम्पस बन्द रहेको बेला नेविसंघले ताला बन्दी गरेको बताएको छ ।