सर्वदलीय बैठक जारी, तीन बुँदे माग सम्बोधन भए नेकपा-माओवादी पनि वार्तामा बस्ने

२७ वैशाख, काठमाण्डौं । संविधानसभाको निर्वाचनबारे छलफल गर्न सर्वदलीय सुरू भएको छ । सिंहदरबारको डा. हर्क गुरुङ सभाहलमा जारी बैठकमा प्रमुख दलका शीर्ष नेताका साथै सरकार समर्थित दलका नेताहरूको सहभागिता रहेको छ ।



छलफलका लागि सहभागी हुन यसअघि नै सरकारले दलहरुलाई पत्राचार गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिनुयभो । बैठकमा संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशको मस्यौदामा रहेको विवाद र मिति घोषणा लगायतका विषयमा छलफल हुनेछ ।

यता सरकार विरोधी ३३ दल भने सर्वदलीय छलफलमा सहभागी छैनन् । उनीहरुले निर्वाचनको विषयमा असहमति जनाउँदै सरकारसँग बार्ता नगर्ने निर्णय गरेका हुन् ।

तीन बुँदे माग सम्बोधन भए वार्तामा बस्छौं- नेकपा-माओवादी यसैबीच नेकपा-माओवादीले आफ्ना तीन सुत्रिय मागको सम्बोधन गरेमात्र सरकारले आह्वान गरेको वार्तामा बस्ने जनाएको छ । नेकपा-माओवादीले चैत १ गते गरेको २५ बुँदे आदेश खारेज गर्न तयार हुनुपर्ने, आप्रवासी नेपाली नागरिकता प्रदान गर्ने राष्ट्रघाती नागरिकता विद्येयक खारेज गरिनुपर्ने र अख्तियार प्रमुखको नियुक्ति बदर गरिनुपर्ने माग गरेको छ ।

सरकारले वार्ताका लागि आग्रह गरेको पत्रको जवाफ लेख्दै नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारलाई लेख्नुभएको पत्रमा संविधानसभाको निर्वाचनबारे सर्वदलीय बैठकमा छलफल गर्न बोलाएको पत्र प्राप्त भएपनि वार्तामा बस्नका लागि आफुहरुले विगतदेखि उठाउँदै आएका माग सम्बोधन नभएकाले सरकारी वार्तालाई त्यसले औचित्यहिन बनाएको उल्लेख गरिएको छ ।

पत्रमा आफूले उल्लेख गरेका तीन शर्त पूरा गर्न सरकार तयार भए आफुहरु वार्तामा बस्ने उल्लेख गरिएको छ । साथै ४ दललाई राष्ट्रिय आत्मसमर्पणवादी मार्गमा नलाग्न पनि आग्रह गरिएको छ ।