भारत लैजाँदै गरिएका दुई युवतीको उद्धार

जेठ १५ । विभिन्न प्रलोभन देखाउँदै नेपालका भित्रि जिल्लाबाट फकाएर ल्याई भारततर्फ लैजाँदै गरेको अवस्थामा तीन युवतीलाई मंगलबार वीरगन्ज नयाँ बसपार्कबाट उद्धार गरिएको छ ।

उदयपुर र सर्लाही जिल्लाका ती युवतीलाई वीरगन्जको बाटो हुँदै भारततर्फ लैजाने क्रममा वीरगन्जको नयाँ बसपार्कबाट उद्धार गरिएको हो ।



बस पार्कमा सामाजिक कार्य गर्दै आएको साना हात नेपाल नामक गैरसरकारी संस्थाका प्रतिनिधिले शङ्का लागि सोधपुछ गर्दा ती युवतीलाई ललाइफकाइ भारततर्फ लैजान लागेको जानकारी पाएपछि उद्धार गरिएको साना हात नेपालका संयोजक बाबुराम क्षेत्रीले जानकारी दिए ।

उद्धार गरिएका युवतीहरूमा उदयपुर गाईघाटका राई र परियार थरका दुई र सर्लाहीकी साह थरकी एक युवती रहेका छन् । उनीहरूमध्ये राई १४, परियार १९ र साहको उमेर १६ वर्ष रहेको क्षेत्रीले बताए ।

टेम्पोमा राखी भारततर्फ लैजाने क्रममा शङ्का लागि सोधपुछ गर्दा टेम्पो चालक बाराको बड्की फूलबारीका सुरेश राय उनीहरूलाई लैजाने मुख्य मानिस बोलाउँछु भनी टेम्पो छाडी फरार भएका थिए ।

सिमानामा जाँच कडा भएसँगै हिजोआज दलालहरूले वीरगन्जको नयाँ बसपार्क नजिक भिस्वा क्षेत्रमा डेरा राखी त्यहाँबाट थोरै सङ्ख्यामा स्थानीय व्यक्तिकै सहयोगमा सिमाना कटाउन थालेको सूचना पाएसँगै बढी सक्रियता देखाउन थालिएको हो ।

उद्धार गरिएका तीनै युवतीलाई आजै जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको छ । रासस