फिलिलि मोटर कुद्ने भो नागढुंगाको सडक (भिडियोसहित)

१८ जेठ, काठमाडौं । उकालो, घुम्ती र साँघुरो सडक । पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपर र क्षमताभन्दा बढी भार बोक्ने मालबाहक ट्रकका कारण छेउकुनामा ठूला खाल्डाखुल्डी । दिनहुँ कुनै न कुनै गाडी बिग्रेर घण्टौ जाममा बस्नुपर्ने बाध्यता । राजधानी जोड्ने मुख्य नाका नागढुंगाले भोग्दै आएको नियति हो यो ।

जाम र यात्रुलाई सास्ती दिने सडकको रुपमा परिचित हुँदै आएको नागढुंगाले अहिले रुप फेरेको छ । साँघुरो सडक फराकिलो बनाइएको छ । हप्ता दिनअघिसम्म सडकमा देखिने खाल्डाखुल्डी पुरिएका छन् । पुरै कालोपत्रे गरेर सडक चिल्लो बनाइएको छ । ‘सडकले रुप फेरेसँगै जामको समस्या कम भएको छ’ नागढुंगाका ट्राफिक प्रहरी नायब निरीक्षक खडिन्द्र खत्रीले अनलाइनखबरसित भन्नुभयो-’सडक राम्रो भएपछि गाडी बिग्रने समस्या हुँदैन, गाडी नबिग्रेपछि जाम पनि हुँदैन ।’



नागढुंगाबाट धादिङतिरको झण्डै तीन किलोमिटर सडक पिच भैसकेको छ । तर बढी सडक बिग्रेको ठाउँ झ्याप्ले खोलामा मर्मतको काम बाँकी नै छ । त्यहाँ ९ सय ५० मिटर ढलान गर्ने काम भैरहेको सडक विभागले जनाएको छ ।

नागढुंगाको सडक हुँदै दैनिक ६ हजार ५ सयदेखि सातहजारसम्म गाडी ओहोरदोहोर गर्छन् । काठमाडौंलाई देशका बिभिन्न ठाउँसित जोड्ने मुख्य नाकामा सधैं जामको समस्याले यात्रु हैरान हुँदै आएका छन् । अझ दशैंतिहार जस्ता चाडपर्वमा त यात्रुले निकै सास्ती भोग्नुपरेको छ । ‘खानीखोलासम्म नै सडक यस्तै पिच भयो भने यसपटक दशैं तिहारमा पोहोरपरारजस्तो जामको समस्या नदेखिएला’ खत्रीले भन्नुभयो ।






बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।