५ वर्षीया बालिका ५० वर्षीय पुरुषबाट बलात्कृत

१० जेठ, सिरहा । सिरहाको सोनमती मझौरा गाविस वडा नम्बर ४ कि पाँच वर्षीया बालिका ५० वर्षीय पुरुषबाट बलात्कृत भएकी छिन् । सोही गाविस वडा नम्बर ६ बस्ने ५० वर्षीय मोहमद रुदल भनिने मोह्मद इसुफ मियाँले बुधबार राती ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।




पीडित परिवारका अनुसार सो दिन राती खाना खाएर सुतेको बालीकालाई इसुफले बालिका सुतेकै कोठामा गएर बलात्कार गरेका थिए । बालिकाकी आमाका अनुसार बालिका सुतेको कोठामा आफु पुगेपछि बालिका अचेत अवस्थामा रहेको र बालिकाको शरिरबाट रगत बगेको देखेर तत्कालै छिमेकीहरुलाई जम्मा पारेको आमाले बताइन् । छिमेकीहरु जम्मा हुनथाले पछि मिया फरार भएको स्थानीयहरुले बताएका छन् ।

बालिकालाई विहीबार बिहान सामान्य उपचार गराएको र ठिक नभएपछि विहीवार बेलुका लहान अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । लहान अस्पतालले बालिकाको उपचार सम्भव नभएपछि बालिकालाई विपी प्रतीष्ठान धरान रिफर गरेको अस्पतालले बताए पनि पीडित परिवारले बालिकालाई घरमै राखिरहेका छन् ।

बालिकालाई स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको र घटनाको अनुसंधानको लागि प्रहरी परिचालन गरि आरोपीको खोजतलास भइरहेको वडा प्रहरी कार्यालय लहानले जनाएका छन् ।