इराकीले काम माग्दै विस्फोट गराउन थालेपछि नेपाली कामदारको ज्यान जोखिममा

९ जेठ, काठमाण्डौं । रोजगारीका लागि आकर्षक मानिएको इराकमा बढ्दै गएको हिंसात्मक घटनाले त्यहाँ रहेका नेपाली कामदारको ज्यान जोखिममा परेको छ । इराकी नागरिकहरूले हरेक कम्पनीमा आफूहरूले नै काम गर्न पाउनुपर्ने भन्दै जताततै विस्फोट गराउन थालेपछि नेपाली कामदार जोखिममा परेका हुन् । इराकीको आक्रमण बढ्दै गएपछि केही रोजगारदाता कम्पनीले नेपाली कामदारलार्ई स्वदेश फर्काउन थालेको छ ।



अधिकांश कम्पनीले भने स्थानीयका आक्रमण छल्न सुरक्षित स्थानतर्फ स्थानान्तर गर्न थालेका छन् । इराकस्थित नेपालीहरूका अनुसार पछिल्लो समय स्थानीय नागरिक निकै आक्रोशित बन्दै कम्पनीकम्पनीमा विस्फोट गराउन लागेका छन् । जसका कारण नेपालीका ज्यान निकै जोखिममा पर्न थालेको हो ।

सुरक्षाका दृष्टिले अत्यन्तै खतरा भएपछि केही समयदेखि सुरक्षित स्थानमा बसोबास गर्दै आएका नेपाली कामदारले दिएको जानकारीअनुसार स्थानीय इराकीले आफ्नो देशका विभिन्न कम्पनी र फ्याक्ट्रीमा आफूहरूले नै काम गर्न पाउनुपर्ने माग गर्दै जतासुकै र जुनसुकै कम्पनीमा बम विस्फोट गराइरहेको राजधानी दैनिकमा खबर छ ।झन्डै डेढ सय नेपाली कामदार कार्यरत इराकको मिसुलस्थित सालक इनर्जी कम्पनीमा गत साता लगातार तीनपटकसम्म बम विस्फोट भएपछि उनीहरूसँगै काम गर्ने एक तुर्किस्तानी नागरिक घाइते भएका थिए ।

अत्यन्तै सुरक्षित र घेराबारा गरिएको विद्युत् उत्पादन कम्पनी सालकभित्रै स्थानीय इराकीले बम विस्फोट गराएपछि नेपाली कामदारले काममा जान इन्कार गरेका थिए । एक सातासम्म कडा सुरक्षाका साथ खान र बस्न दिइएका नेपालीलार्ई थप संकट पर्न सक्ने भन्दै आपत्ति जनाएपछि केही दिनअघि अर्बिनमा सारिएको त्यहाँ कार्यरत तनहुँका शिव पौडेलले टेलिफोनमार्फत जानकारी दिए । ‘हामी अत्यन्तै खतरामा छौं, यही कम्पनीमा कार्यरत अन्य देशका ३ सयभन्दा बढी कामदारलार्ई स्वदेश फर्काइएको छ, तर नेपाली वीर हुन्छन्, काम गर्छन् भनेर फर्काइएको छैन, बरु स्थानान्तरण गरिएको छ,’ पौडेलले भने । तलको बक्समा क्लिक गर्नुहोस