'२२ लाख विदेशीले पाए नेपाली नागरिकता'

८ जेठ, रोल्पा । नेकपा-माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढा मगरले चार राजनैतिक शक्ति चुनावको हल्ला गरेर जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाएका छन् । आज रोल्पामा भएको पत्रकार भेटघाट कार्यक्रममा बुढाले जनताले चुनावै नचाहेको र चुनावको वातावरण पनि नबनेकोले चुनावको कुरा गर्नु हावा दारी हुने बताए ।

पहिलो संविधानसभा पनि योजनाबद्व ढंगले विघटन गरिएको आरोप लगाउँदै नेता बुढामगरले अहिले संविधानसभाको निर्वाचन गर्नु भनेको जनतालाई दुःख दिनु मात्र हुने बताए ।



मगराँत राज्य समितिका इन्चार्ज समेत रहेका बुढाले वर्तमान सरकार खिलराज रेग्मीले चलायको भएपनि एकिकृत नेकपा माओवादीको सरकार भएको दावी गरेका छन् । उनले विदेशीको इशारामा वर्तमान सरकार सञ्चालन भईरहेको जिकिर गरेका छन् ।

लामो समय राजनैतिक संक्रमण काल रहिरहे देश सिक्किमिकरण हुने तर्क गर्दै देशलाई बचाउन सबै राष्ट्रबादी एक हुनुपर्ने बताए । अहिले राष्ट्रिय संकट बढिरहेको भन्दै यसबारेमा ठाडो शिर बनाएर बोल्ने कसैले पनि हिम्मत गर्न नसेको उनको भनाई छ ।

वर्तमान अवस्थामा जनताको पक्षमा बोल्ने, राष्ट्रको चिन्ता गर्ने आफ्नो पार्टी मात्र भएको दावी गर्दै एकिकृत नेकपा माओबादी एमाले भई सकेको आरोप लगाए । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै बुढामगरले आफुहरूले चुनाव पुर्ण रूपमा बहिस्कार गरेको नभई विदेशीको इशारामा चुनाव हुन थालेकोले यसको बिरोध गरेको स्पष्ट पारे । अहिले सम्म २२ लाख विदेशी नागरिकले नेपाली नागरीकता पाई सकेको दावी गर्दै सरकारले संचालन गरेको एकिकृत घुम्ती शिविरको नाउँमा विदेशी नागरिकलाई नागरीकता दिने खेल भईरहेको आरोप लगाए ।

४० लाख विदेशीलाई नागरीकता दिने खेल भईरहेको बताउँदै अहिले आफुहरूले संचालन गर्न लागेको प्रतिरोध अभियान मार्फत जनतालाई स्पष्ट पार्ने जानकारी समेत दिए ।