आमाले नै आफ्नै छोरीको अपहरण गर्न लगाएको खुलासा !!

काठमाडौं, जेष्ठ १३ - राजधानीको निम्स कलेज लैनचौरमा ११ कक्षाको अन्तिम दिनको परीक्षा सकेपछि १६ वर्षीया सदीक्षा सुवेदी (नाम परिवर्तन) क्याम्पस बाहिर आइनन् । सधैंझैँ बाहिर पर्खेर बसेका बाबु छोरी नआएपछि अत्तालिए । क्याम्पसभित्र छिरेर छोरी यताउता खोजे, भेटेनन् ।



आफैँ गोंगबुस्थित घर गइन् कि भन्दै घर पुगे । घरमा पनि छोरी थिइनन् । सुवेदी पढ्ने रेडन कलेजमा पुगे । त्यहाँ पनि फेला परिनन् । उनका साथीहरूलाई फोन गरेर बुझ्दा छोरी परीक्षा हलबाट आधा घन्टा पहिला नै निस्किएकी रहिछन् । नातागोतातिर बुझे । केही पत्तो लागेन । दिउँसो साढे १ बज्नै लाग्दा सुवेदीको घरमा भाडामा बस्ने दीपक नामका एक व्यक्तिको मोबाइलमा फोन आयो ।

सदीक्षाको नम्बरबाट आएको फोनमा सदीक्षाले नै आफू अपहरणमा परेको बताइन् । लगत्तै धरानमा रहेकी मामाकी छोरीलाई पनि फोन गयो । त्यता पनि क्याम्पस बाहिरबाट ३ केटाले आफूलाई अपहरण गरेको बताइन् । एकछिनपछि मोबाइलमा म्यासेज आयो 'तिम्री छोरी जिउँदो चाहिए ५ लाख रुपैयाँ र गोंगबु घरको लालपुर्जा भक्तपुरको बाराही हलनजिक फोहोर थुपार्ने स्थानमा कालो प्लास्टिकमा राखेर फ्यालिदिनु' भन्ने सन्देश आयो ।

अपहरणकारीले ५ लाख त मागे, तर घरको लालपुर्जा किन चाहियो ? फेरि एकैछिनमा अर्को म्यासेज आयो 'मलाई ठूलो बुवा (जो धुलिखेलमा क्याम्पस पढाएर बस्छन्) उनले अपहरण गराएका रहेछन्, अपहरणकारीले भनेको, धुलिखेलतिर लैजाँदैछन्, मलाई बचाइदिनुहोस्' लेखेको म्यासेज आयो । प्रहरीले सदीक्षाको मोबाइलको लोकेसन हेर्‍यो, हेर्दा त धुलिखेल भनेका बेला उनको लोकेसन बल्खुतिर देखियो ।

विस्तारै विस्तारै फोन त धादिङतिर लाग्यो । प्रहरी अनुसन्धान गरिरहेका बेला उनको फोन त धरानमा देखियो । प्रहरीले सदीक्षा बसेको सिट छेउमा बस्ने यात्रुको मदतमा उनलाई धरानस्थित स्थानीय प्रहरी कार्यालयमा पुर्‍याउन लगायो । उनी बस चढेर धरान हिंडेको पत्ता पाएपछि प्रहरीले बस काउन्टरबाट बस र सिटका यात्रुको विवरण खोजी गर्दै सदीक्षाको सिट छेउमा बस्ने यात्रुको मोबाइल नम्बर फेला पारेर ती यात्रुबाट सहयोग लियो । अनि उनलाई काठमाडौं झिकायो ।

काठमाडौं झिकाएर सोधपुछ गर्दा मात्र थाहा भयो, यो अपहरण नभई नक्कली अपहरण रहेछ, त्यो पनि आफ्नै आमाले गर्न लगाएकी रहिछन् । किन त ? महानगरीय प्रहरी अपराध महाशाखामा भेटिएकी सदीक्षाले आमाको सल्लाहअनुसार आफूले नक्कली अपहरणको नाटक गरेर ठूलो बुवालाई पक्राउ गराउन त्यसो गरेको बताइन् । ठूलो बुवा चन्द्र सुवेदीले आमा र बुवाको सम्बन्ध विच्छेद गराइदिन खोजेको भन्दै आमाले छोरीको प्रयोग गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

'छोरीको दिमागमा ठूलो बुवाका विरुद्धमा कुरा भरिदिएको रहेछ,' ती अधिकारीले भने, 'तेरो आमा-बुवालाई छुटाउन खोजेको छ, ऊसँग बदला लिनुपर्छ भनेर उसलाई परीक्षा सकिएपछि धुलिखेल जानु र ठूलो बुवाले अपहरण गरेको बताउनु भनेको रहेछ ।' त्यसपछि प्रहरीले ठूलो बुवालाई पक्राउ गरेपछि तिमी घर आउनु भनेर पठाएको प्रहरीको भनाइ छ । 'आमाले छोरीलाई मोहरा मात्र बनाएर जेठाजुसँग बदला लिन खोेजेको रहेछ,' अनुसन्धानमा संलग्न अधिकारीले भने, 'यसअघि पनि जेठाजुलाई नराम्रो देखाउन छोरीमाथि नक्कली आक्रमणको नाटकसमेत गरेको पाइयो ।

' प्रहरीका अनुसार सदीक्षाका बुवा र आमाको बिहे नाताभित्रै भएको हो । बुवाको मामाकी छोरीसँग प्रेमविवाह गरेको भन्दै उनीहरूको बिहेसँग असन्तुष्ट थिए । 'आफ्नै नाताभित्र बिहे गरेकाले नातागोता असन्तुष्ट रहेछन्, जेठाजुले अझ बढी नराम्रो व्यवहार गर्ने गरेकाले बदला लिएको पाइयो,'

अनुसन्धानमा संलग्न अधिकारीले भने । सदीक्षाका बुवाका अनुसार उनको घरमा छोरीलाई सम्बोधन गरेर दिन बिराएर धम्कीसहितका पत्र आउने गर्थे । ७ वटापत्र प्रहरीसँग छन् । 'तलाई मारिदिन्छु, घरबाट बाहिर ननिस्कनु जस्ता बेहोरा थिए,' बुवाले कान्तिपुरसँग भने, 'छोरीको कोही कसैसँग प्रेम सम्बन्ध भएर त्यस्ता पत्र आएका हुन् कि भन्ने लाग्यो, तर पछि-पछि आउने पत्रमा मेरो दाइले नै हो भन्ने थियो ।' पत्र आइरहेकै अवस्थामा एकदिन घरमा बसिरहेकी सदीक्षालाई स्प्राइटको बोतलले टाउकामा चोट लाग्यो । बाहिरबाट ठूलो बुवाले नै पठाएका मान्छेले हानिएको भनियो । तर सदीक्षा आफैँले टाउकामा चोट लगाएर ४ टाँका लगाइएको थियो । त्यही मुद्दामा प्रहरीले ठूलो बुवालाई समातेर महाराजगन्जमा २ दिन थुनेको थियो । तर अनुसन्धान अधिकारीका अनुसार ती धम्कीपूर्ण हस्तलिखित पत्र सदीक्षा आफैँले लेखेकी रहिछन् । 'उनको हेन्डराइटिङसँग ती पत्रहरू मेल खान्छन्,' महाशाखाका ती अधिकृतले भने, 'सदीक्षाले समेत आफैंले लेखेको स्वीकारेकी छन् ।' प्रहरीले छोरीलाई आफ्नै अपहरण गर्न लगाउने आमालाई पक्राउ गरेको छ । उनलाई सार्वजनिक मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले बतायो पुरा भिडियो हेर्न को लागि तल को बक्समा डबल क्लिक गर्नुहोस