छोरी सप्रे नर्स, पढेपछि निरस

रोजगारी नपाउँदा नर्सहरु पनि विदेश जान बाध्य

२९ बैशाख, काठमाडौं । आज नर्सिङ दिवस । पहिलेका मान्छेहरु भन्थे-छोरो बिग्रे कमर्श, छोरी बिग्रे नर्स । अर्थात कमर्श पढ्ने छोरा र नर्स पढ्ने छोरीको भविष्य छैन भनिन्थ्यो । तर, अहिले जमाना फेरिएको छ । कमर्शमा जस्तै नर्स विषयमा पनि आकर्षण बढ्दै गएको छ । एसएलसी पास हुनेबित्तिकै धेरै छोरा कमर्श रोज्छन् । प्रायः छोरीहरु नर्स नै पढ्छन् । तर, पढाइमा सप्रेकी छोरीले नर्स रोजे पनि पढाइ सकिएपछि भने उनीहरुमा निराशा छाउने गरेको छ ।



‘आकर्षण त बढेको छ, तर देशभित्र रोजगारीको अभाव छ’ नेपाल नर्सिङ संघकी अध्यक्ष प्रमिला देवानले अनलाइनखबरसित भन्नुभयो । उहाँका अनुसार देशभित्रका बिभिन्न शिक्षण संस्थाबाट वर्षेनी पाँचहजार भन्दा बढी नर्स उत्पादन हुन्छन् । विदेशमा पढ्नेहरुको संख्या पनि उत्तिकै छ । ‘तर पढेका सबैले रोजगारी पाउँदैनन्, कामको लागि विदेश जानुपर्ने या अरु नै पेशा अपनाउनुपर्ने बाध्यता छ’ देवानले भन्नुभयो ।

नेपालमा अहिले ३७ हजारभन्दा बढी नर्सहरु छन् । वर्षेनी ५ हजार नर्स थपिँदा व्यवस्थापनमा अप्ठेरो परेको छ । योग्यता अनुसार रोजगारी नपाउँदा आकर्षण भए पनि निराशा थपिएको नर्सहरु बताउँछन् ।

व्यवहार परिवर्तनको खाँचो

भनिन्छ, बिरामीको आधा रोग डाक्टर र नर्सको स्नेहपूर्ण व्वहारले ठीक हुन्छ । बिरामीको स्यहारसुसारमा डाक्टरको भन्दा नर्सको भूमिका बढी हुन्छ । बिरामीलाई मायालु र स्नेहपूर्ण व्यवहार, मीठो बोली, बेलाबेला सोधीखोजी र स्याहारसुसार नर्सले गर्ने काम हुन् । तर सबै नर्सले यस्तो व्यवहार देखाउँदैनन् । नयाँ उत्पादन भएका नर्समा अझै यो समस्या बढी रहेको नर्सिङ संघले जनाएको छ ।

‘बिरामीप्रति गर्नुपर्ने उचित व्यवहारबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने आवश्यकता छ, हाम्रो ध्यान यतातिर पनि केन्दि्रत छ’ संघकी अध्यक्ष देवानले भन्नुभयो । आइतबार बिश्व नर्स दिवसको अवसरमा योसँगै बालमृत्युदर घटाउने, आमाको स्वास्थ्यमा सुधार तथा एचआईभी/एड्स र मलेरिया न्यूनीकरणमा केन्द्रित गरी संघले बिभिन्न कार्यक्रम गर्दैछ ।