सिन्धुपाल्चोकमा बस दुर्घटना हुदा १५ जनाको मृत्यु, ४४ घाइते ( भिडियोसहित)

११ को सनाखतः सिन्धुपाल्चोक, जेष्ठ १५ । सिन्धुपालचोकको भोताङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा कम्तिमा ४४ जना घाइते भएका छन् । अहिले सम्म ११ जनाको सनाखत भएको छ भने चार जनाको सनाखत हुन बाँकी छ ।



मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक जिल्ला, थाङपालकोट गाविस वडा नम्बर ३ का रणप्रसाद पण्डित र उनकी छोरी सविना पण्डित, सोही ठाउँकी पितादेवी बस्नेत, थाङ्पालकोट वडा नम्बर ५ की मिठू सापकोटा, वडा नम्बर ८ का धने तामाङ, भोताङ गाविस वडा नम्बर २ का सिनेन लामा, वडा नम्बर ३ का बुधे लामा, वडा नम्बर ८ का शेरबहादुर लामा, गुन्सा गाविस वडा नम्बर ८ का छोटे तामाङ, बरुवा गाविस वडा नम्बर १ का छिरिङ तामाङ र मेन्दो तामाङ छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ३५ जनालाई उपचारका लागि सेनाले हेलिकप्टर मार्पmत काठमाडौं ल्याएकोमा दुई जनाको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा निधन भएको छ । काठमाडौं ल्याइएका अन्य घाइतेहरु मध्ये बी एण्ड बी अस्पतालमा २ जना, अल्का अस्पतालमा ३ जना र शिक्षण अस्पतालमा २८ जनाको उपचार भईरहेको छ । त्यस्तै सामान्य घाईते भएकाहरुको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भैरहेको छ । सिन्धुपालचोकको भोताङबाट काठमाडौं आउँदैै गरेको बस सिन्धुपाल्चोकको थाङ्पालकोट गाविसको चिलौनेमा दुर्घटना भएको हो । पानी परिरहेको बेला कच्ची बाटोमा चिप्लिएर बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बस सडकबाट एक सय मिटर तल खसेकोे छ ।