नेपालमा अमेरिकी डलर छ्याप्छ्याप्ती बदलियो भूटानी शरणार्थीको जीवनशैली

३० चैत, झापा । शनिश्चरे, मोरंगस्थित भूटानी शरणार्थी शिविर सेक्टर आई १ छाप्रो नं. ९ का दिलबहादुर राईलाई कात्तिक २० गते अमेरिकामा रहेका मामाले ३ सय अमेरिकी डलर पठाइदिए । छाप्रोभित्रबाट दिलबहादुर हौसिँदै बाहिर आएर भने-’मलाई अमेरिकाबाट मामाले ३ सय अमेरिकी डलर पठाइदिए, अब तिहार खर्च चलाउने हो, एउटा मोबाइल किन्ने हो, फेसनेवल कपडा किन्छु अनि छाप्रो मर्मत गर्छु ।’


सोही शिविर सेक्टर जी ४ का चन्द्र कार्कीको पनि जीवनशैलीमा हिजोआज विगतको भन्दा आकाश पतालको फरक आएको छ । २५ वषर्ीय चन्द्र चार वर्षअघि पोखरामा मिस्त्री काम गर्ने गर्दथे । दैनिक २ सय रुपैयाँमा काम गर्ने गरेका चन्द्रले महिनामा ६ हजार आर्जन गर्थे । काकाकाकी पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेपछि चन्द्रको छाप्रोमा महिनैपिच्छे ५० हजार रुपैयाँ भित्रिने गरेको छ ।

’अमेरिकाबाट डलर आउन थालेपछि कसले गर्छ मिस्त्री काम ?’ चन्द्रले भने-’वर्ष दिनसम्म मिस्त्री काम गरेर कमाएको रुपैयाँ अमेरिकामा पुगेका आफन्तहरुले ६ महिनामै पठाइदिने गरेका छन् ।’ यसैबाट चन्द्रले विगतका आफ्ना दुःख पीडालाई भुल्दै आएका छन् ।

  कस्मेटिक सामानमा खर्च

झापाको बेलडाँगी-३ की २० वर्षीय सीता क्षेत्रीको आम्दानी र खर्चको हिसाव बेग्लै छ । अमेरिकामा पुगेका सबै आफन्तले महिनैपिच्छे कम्तिमा २० हजार रुपैयाँ पठाउने गरेका छन् उनलाई । करिब १ वर्षअघिदेखि डलर थापिरहेकी सीताको मासिक खर्चको हिसाव पनि लामै छ । श्रृंगारको सामानमा ५ सय, इन्टरनेट फोनमा १ हजार, मोबाइल रिचार्ज कार्डमा २ हजार, होटलमा नास्ता १ हजार, कपडा इत्यादिमा ४ हजार र अन्य खर्चमा २ हजार गरेर कूल १५ हजार रुपैयाँ मासिक खर्च गर्ने गरेकी छन् उनले ।अमेरिकाबाट आएको डलरले सीताको जीवनस्तर उठाउनका साथै राम्रो लगाउने र मीठो खाने बानी बसिसक्यो । ‘कस्मेटिक सामान र लुगा त महिनैपिच्छे फेर्ने गर्छु’- निर्धक्कका साथ सीता भन्छिन् -’बजारमा आएको फेसेनेवल कपडा, नयाँ ब्राण्डका सामान मेरो पहिलो रोजाइ हुने गर्छ ।’


दिलबहादुर, चन्द्र र सीताजस्तै भूटानी शरणार्थी शिविरमा रहेका करिब ६० हजार शरणार्थीले कुनै न कुनै परिमाणमा रेमिट्यान्स प्राप्त गर्दै आएका छन् । शरणार्थी शिविरमा शरणार्थीको संख्या जसरी घटिरहेको छ, शिविरमा रहेका शरणार्थीले पाउने रेमिट्यान्सको मात्रा पनि त्यही मात्रामा बढिरहेको छ । करिब ३ वर्ष अघिदेखि भूटानी शरणार्थीको छाप्रोमा नियमित रुपमा अमेरिकाबाट डलर भित्रिने गरेको छ । रेमिट्यान्स भित्रिएसँगै शरणार्थीको जीवनशैली त्यसै फेरिने नै भयो, शरणार्थीहरुले प्राप्त गरेको रेमिट्यान्स झापाको दमक, विर्तामोड, मोरङको पथरी, विराटनगर र सुनसरीको इटहरी जस्ता सहरहरुमा खर्च हुने गरेको छ ।

विशेषतः शरणार्थीले कपडा, कस्मेटिक सामान, सुन चाँदी, मदिरा, ग्याँस, सोलार जस्ता सामाग्रीहरुमा रेमिट्यान्सको खर्च गर्ने गरेको देखिन्छ । बढ्दो आम्दानीसँगै शरणार्थीको जीवनस्तर पनि ह्वात्तै चुलिएको छ । अहिले बाँसको चित्राले छापेका छाप्राहरुको छानोमा सोलर प्यानलका प्लेटहरु जोडिएका छन् । विगतमा शरणार्थीहरुका छाप्राहरुमा बिजुली, ग्याँस, चुल्हो, ल्यापटप, क्यामेरा, टि.भी., सवारी साधन लगायतका भौतिक सामग्रीहरुको सुविधा थिएन । तर, अहिले यी सम्पूर्ण सामग्रीहरु शरणार्थीहरुले मजैले उपभोग गरिरहेका छन् ।


मजदुरी बन्द


अमेरिका पुनर्वास कार्यक्रम सञ्चालन हुनुभन्दा अघि शरणार्थीहरु मोरङको पथरी, शनिश्चरे, उर्लाबारी, हसन्दह, अमरदह, बेलबारी, कानेपोखरी, लेटाङ, जाँते र झापाको दमक, विर्तामोड, लखनपुर, धरमपुर, तोपगाछीलगायतका स्थानहरुमा आफ्नो आर्थिक स्थिति मजबुत बनाउनका निमित्त दैनिक मजदुरी गर्न जान्थे । तर, यसरी मजदुरी गर्न जाने शरणार्थीहरु अहिले इतिहास पल्टाएर खोज्नुपर्ने स्थिति आएको छ शिविरमा । हिजोआज अमेरिकाबाट आफन्तहरुले पठाएको सामग्रीहरु र रेमिट्यान्सबाट शिविरभित्र र आसपासका ठाउँहरुमा शरणार्थीहरुले आफैं व्यापार गर्न थालेका छन् । उनीहरुले सागसब्जी, माछामासु, रिचार्ज कार्डको व्यापार गर्ने गरेको भूटानी शरणार्थी शिविर शनिश्चरेका शिविर सचिव चम्फासिंह राईले बताउनुभयो । ‘

शरणार्थी पुनर्वास भएसँगै शिविर आसपासमा सुनचाँदी पसल र मनि ट्रान्सफर खोल्नेहरुको लर्को नै चलेको थियो’ श्रीराम सुनचाँदी पसल एण्ड मनि ट्रान्सफर पथरीका सञ्चालक गणेश ल्वागुन भन्नुहुन्छ-’कहिले काँही एउटै शरणार्थीको नाममा धेरै रकम आउने गरेको छ, कति शरणार्थीले त मेरै पसलबाट सुन चाँदी अर्डर गरेर विदेश पठाउने पनि गर्दा रहेछन् ।’ अमेरिका, क्यानडा लगायतका तेस्रो मुलुकहरुबाट आएको रेमिट्यान्सले शरणार्थीको छाप्रोदेखि शरणार्थीको जीवनशैलीमा समेत प्रत्यक्ष प्रभाव परेको देखिन्छ । भूटानी शरणार्थी शिविर शनिश्चरेका युवा रविन बिष्ट भन्छन्-’तेस्रो मुलुकबाट रेमिट्न्यास शिविरमा नआएको भए शरणार्थीहरुको जीवनस्तर यति माथि उठ्ने थिएन । तर, अहिले शरणार्थीको अवस्था त्यस्तो छैन । रेमिट्यान्सकै कारण आजभोलि शरणार्थीहरुले विगतमा भोगेका दुःख, कष्ट भुलेका छन् ।’