प्रचण्डको भ्रमणबाट उब्जिएका ३ प्रश्न दिल्लीको सुरक्षाको चिन्ता गरियो, नेपालको कसले गर्ने ?
अरुण बराल
एमाओवादी अध्यक्ष प्रचण्डको तीनदिने भारत भ्रमण सकिएको छ । उहाँले पछिल्लो समय सातदिन चीनमा र तीनदिन भारतमा बिताउनुभएको छ । राष्ट्रका तर्फबाट भन्दै गरिएको छिमेकी देशको भ्रमणका क्रममा केही प्रश्नहरु उठेका छन् ।
भ्रमणको सकारात्मक पाटो
सत्तामा नभएको अवस्थामा प्रचण्डले गरेको दुई छिमेकी देशको भ्रमणलाई केही मानिसहरुले नकारात्मक एवं सामान्य अर्थमा मात्रै लिएका छन् । विपक्षीबाट भएको जुनसुकै कार्यको पनि विरोधमात्रै गर्ने र सकारात्मक पक्षलाई अस्वीकार गर्ने प्रवृत्ति नेपाली राजनीतिमा मौलाएको यसले पुष्टि गर्छ । प्रचण्डको दिल्ली एवं बेइजिङ भ्रमणका केही सकारात्मक पक्ष अवश्यै छन् ।
१. सरकारमा नभएको दलका नेतालाई चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिएको भेटबाट दुबै देशले एमाओवादीसँग सम्बन्ध सुधार्न खोजेको र प्रचण्डलाई नेपालको प्रभावशाली नेताका रुपमा पत्याएको यसले पुष्टि गरेको छ । अन्य दलका नेताले यसमा जति नै डाहा गरे पनि प्रचण्डले छिमेकीसँगको सम्बन्ध सुधार्न आफ्नो खुबी देखाएकै हुन् भन्ने यो भ्रमणले देखाएको छ ।
२. छिमेकी दुई देशको भ्रमणपछि प्रचण्डले आफ्नो व्यक्तिव्य विकासमा जबर्जस्त प्रभाव बनाएका छन् । यसबाट उनले विपक्षी दल र आफ्नै कार्यकर्तामा समेत आफ्नो उचाइ बढाएका छन् । त्यसैले यो भ्रमण प्रचण्डको नेतृत्व विकासका लागि पार्टीगत र व्यक्तिगतरुपमा समेत उपलब्धीपूर्ण छ ।
३. छिमेकी देश, विशेष गरी भारतलाई एनेकपा माओवादीप्रति बढ्ता शंका थियो । एमाओवादी लोकतन्त्रवादी हैन कि ? उसले सत्ता कब्जा गर्न पो खोजेको छ कि ? या ऊ भारतविरोधी र चीनपरस्त पो हो कि भन्ने भारतीयहरुमा भ्रम थियो । यो भ्रमलाई एक हदसम्म चिर्न र आफ्नो पार्टीप्रति उनीहरुको विश्वास आर्जन गर्न यो भ्रमणले प्रचण्डलाई ठूलो मौका दिएको छ ।
नेपालबारे छिमेकीहरुको बुझाइमा प्रष्टता ल्याउन प्रचण्डले गरेको प्रयासले उनी र उनको दललाई मात्रै होइन, सिंगै देशलाईसमेत सकारात्मक योगदान पुर्याउने अनुमान गर्न सकिन्छ । छिमेकीसँग छुद्र हैन, संयमित व्यवहार गर्नुपर्छ भन्ने शिक्षा एमाओवादी नेताहरुमा देखिनु स्वागतयोग्य विषय हो ।
भ्रमणबाट उब्जिएका तीन प्रश्न
१. प्रचण्डले चीन र भारत दुईवटै मुलुकका अधिकारीहरुसँग आर्थिक विकासका लागि त्रिदेशीय सम्बन्ध, लगानी वा संयन्त्र स्तरकै प्रस्ताव गर्नुभएको छ, जसलाई छिमेकी देशले उतिसाह्रो महत्व दिएको देखिएन । विगतमा दक्षिण एशियास्तरको ‘कम्पोसा’ बनाएर भारतविरुद्ध क्रान्तिको प्रस्ताव राख्ने प्रचण्डले त्यस्तै हतारो गरेर ठूला मुलुकसँग ‘हाइपोथेटिकल’ प्रस्ताव राखेको देखिन्छ, जुन स्वैरकाल्पनिक प्रस्तावलाई बुझ्न भारतीय एवं चिनियाँ अधिकारीहरुले शायद अर्को अन्तरदृष्टिको आवश्यकता महसुस गरेनन् कि ? शायद प्रचण्डले आफ्नो यो प्रस्तावबारे ऐन मौकामा पक्कै नेपाली जनतालाई ठोसरुपमा प्रष्ट पार्नुहुनेछ । प्रचण्डको यो अमूर्त प्रस्तावले उहाँलाई गहकिलो भन्दा पनि हावादारी नेताका रुपमा स्थापित गर्ने खतरा देखिएको छ ।
बेइजिङ र दिल्लीको भ्रमणबाट प्रचण्डको केही उचाइ बढे पनि उनले त्यसलाई बचाउलान् कि नबचाउलान् भन्ने अर्को संशय छ । चाँडै हौसिने र दम्भ गर्ने बानीका कारण विगतमा ठूलो दल भैकन पनि सबैलाई समेट्न नसकेका प्रचण्डले यो भ्रमणबाट हासिल गरेको उचाइलाई जोगाउन निकै मेहनत गर्नुपर्ने हुन्छ ।
२. प्रचण्डले चीन र भारत दुबै देशका अधिकारीलाई भनेको छन् कि नेपाल धनी र सम्वृद्ध नभएसम्म भारत र चीन दुबै देशको सुरक्षा चुनौती हट्ने छैन । नेपाललाई सम्वृद्ध बनाउन भारत र चीन दुबैले आर्थिक सहयोग गर्नुपर्ने र नेपालमा लगानी भित्र्याउनुपर्ने प्रचण्डको माग छ । विशेष गरी लुम्बिनी र ठूला जलविद्युत आयोजनामा सहयोग गर्न उहाँले दुबै देशसँग नधकाइकन हात पसारेका छन् । तर, यसरी भारत र चीनसँग मागिरहँदा प्रचण्डले नेपालको सुरक्षामाथि विशेष गरी भारतीय पक्षबाट पुगिरहेको बाधाका सम्बन्धका स्वाभिमानका साथ अडान राखेको सुनिएको छैन । भारतीयहरुले नेपालको राजधानीमै पसेर गर्ने गरेको हत्या, सीमा क्षेत्रमा नेपालीमाथि गर्दै आएको विभेद र आक्रमण, सीमानामा भइरहेको बलमिच्याइँ, चुरेक्षेत्रमा भइरहेको प्राकृतिक दोहन, बिराटनगरमा नेपाल सरकारको आदेश विपरीत खडा गरिएको कार्यालय र नेपालको हरेक मामिलामा गर्दै आएको थिचोमिचोका बारेमा प्रचण्डले भारतीय पक्षसँग नेपालको राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई ख्याल गरेर अडान राखेको सूचना अहिलेसम्म बाहिर आएको छैन । विगतमा आफैंले भन्दै आएको १९५० सन्धीबारे प्रचण्डले के कुरा गरे ? यो पनि बाहिर आएको छैन । भारतले आफ्नो सुरक्षामा मात्रै चिन्ता गरेको र नेपालमा हुने भारतविरोधी गतिविधि रोक्न प्रचण्डले भारतसँग प्रतिवद्धता जनाएको कुरो बाहिर आएको छ । तर, भारतले नेपाललाई ‘छोटे भाइ’को व्यवहार नगरोस् भनेर प्रचण्डले सुझाव दिएको सुनिएको छैन । बरु उल्टै ‘छोटे भाइ’ बन्ने आत्मस्वीकृति जनाइएको त हैन ? यो पनि प्रचण्डले पक्कै प्रष्ट पानुपर्नेछ ।
नेपालमा भारतीय लगानीको कुरा गरिरहँदा नेपालको राष्ट्रिय स्वार्थमाथि यसले पार्ने प्रभावका विषयमा स्पष्ट खाका बनाउन जरुरी छ । हेटौडा महाधिवेशनमा उत्पादन बढाउन सहकारीको मोडेल ल्याउने अनि व्यवहारमा विदेशीसँग मागेर देशको कायापलट गर्छु भन्ने सोचाइले कसरी नेपालको स्वाधीनता रक्षा हुन्छ ?
३. भ्रमणका क्रममा भारतीय नेताहरुले प्रचण्डको नाडी राम्रोसित छामेका छन् । यिनी भारतीय स्वार्थअनुसार प्रयोग गर्न सकिने गोटी हुन् या नेपालको राष्ट्रिय स्वार्थका पक्षमा उभिने अब्बल दर्जाका राष्ट्रवादी नेता हुन् भन्ने विषयमा सम्भवतः भारतीय अधिकारीहरु प्रष्ट भएका छन् । भारतले प्रचण्डलाई त्यसै निम्तो दिएको हैन, ऊ नेपालमा नयाँ दलालको खोजीमा छ । कांग्रेस र एमाले वा अन्य कमजोर शक्तिबाट काम नचल्ने देखेर भारतीयहरु नयाँ मतियारको खोजीमा छन्, जसले भारतले जे भन्छ, त्यो खुरुखुरु मानोस् । चीनले पनि नयाँ पार्टनरको खोजीकै क्रममा प्रचण्डलाई रातो कार्पेट ओछ्याएको हो ।
विदेशीसँगको सम्बन्धमा ‘डिप्लोम्यासी’ वा चिप्लो कुराको मात्रै महत्व हुँदैन, ‘ड्यासिङ’ को पनि उक्तिकै महत्व हुने गर्छ । नेपाली नेताहरुले अहिलेसम्म भारतसँग नेपालको हितअनुसार कडारुपमा कुरा राख्न नसक्नु नेपालको राष्ट्रिय समस्या बन्ने गरेको छ । दिल्ली पुगेर त्यहाँका नेताहरुसँग वैद्य समूहको खुलेर आलोचना गर्नुका साथै नेपालमा भारतविरोधी गतिविधि हुन नदिने बचनसमेत दिएका छन् । तर, प्रचण्डले नेपालमा किन भारतको आलोचना हुँदैछ र नेपालीका केही जायज गुनासा पनि छन् भनेर भारतीय अधिकारीलाई ‘ड्यासिङ’ दिए कि दिएनन् ? सुस्ता, टनकपुर, कालापानी, महाकाली र कोशी उच्च बाँधलगायतका विषयमा कुरा गरे कि गरेनन् ? यसैमा भर पर्छ प्रचण्ड नेपालका राजनेता हुनेछन् या हुन सक्ने छैनन् ।