बन्दकर्ताहरुले बस तोडफोड गर्दा बालक घाइते

इलाम, चैत २५ (नागरिक) - मेची राजमार्ग अन्तर्गत इलामको कन्याम गाउँ विकास समितिमा बन्दकर्ताहरुले आज बिहान काठमाडौंबाट आएको रात्री बस तोडफोड गरेका छन्। बस तोडफोड गर्दा बसमा रहेका बालक घाइते भएका छन्। काठमाडौंबाट पशुपतिनगर आउँदै गरेको ना३ख २५६९ नम्बरको दार्जिलिङ् एक्सप्रेस तोडफोड हुँदा दोलखाका दुई वर्षीय दिलिप धामी घाइते भएको प्रहरीले जनाएको छ।

गालामा चोट लागेका बालक धामीको फिक्कलस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। तोडफोडबाट बसको आगाडि र पछाडिको सिसा फुटेको छ। बसलाई अवरोध गर्न गएका बन्दकर्ताका दुई मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। बन्दका कारण मेची राजमार्गमा ठूला र साना सवारी साधनहरु बिहानैदेखि ठप्प छन्। शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार पसल बन्द छन्।

नेकपा-माओवादीको नेतृतवमा रहेका दल र समूहरुले आज नेपाल बन्दको आह्वान गरेका हुन्। नेकपा माओवादी जिल्ला इन्चार्ज कान्छा लावतीले प्रेस, एम्बुलेन्स, दूध र हरियो चियापत्ती बोक्ने सवारी साधन लगायतलाई भने सञ्चालनमा अवरोध नगर्ने बताए।