भारतीय राजदूतसँग बाबुराम र प्रचण्डको गोप्य वार्ता

एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले भारतीय राजदूतसँग गोप्य वार्ता गरेको सार्वजनिक भएको छ।

संविधानसभाको निर्वाचनका लागि अन्तरिम चुनावी मन्त्री परिषद् गठन भएपछि प्रचण्ड र बाबुराम गोप्य वार्ता गर्न भारतीय दूतावास छिरेका हुन् । नेकपा–माओवादी लगायत ३३ दलले वर्तमान सरकार र चुनावको विरोध गरिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भने सुटुक्क भारतीय दुतावास पुगेर गोप्य वार्ता गरेका हुन् ।

धादिङको धार्केमा नेवा र ताम्सालिङको अगुवा कार्यकर्ताहरूको प्रशिक्षण सकिए लगत्तै काठमाडौं फर्किएका प्रचण्ड र बाबुराम आइतबार साँझ नै भारतीय राजदूत जयन्तप्रसाद सिंहलाई भेट्न लैनचौर पुगेका थिए । त्यसपछि राती अबेर ९ बजेपछि मात्र राजदूतावासबाट उनीहरु बाहिर निस्किएको स्रोतले बताएको छ ।

पूर्व प्रधानमन्त्री द्वय दाहाल र भट्टराईले भारतीय दुतावासमा के विषयमा छलफल गरे भन्ने समेत गोप्य राखिएको छ । बाबुराम भट्टराई नेतृत्वको सरकार ढलेपछि एमाओवादी शीर्ष नेताले राजदूतसँग सत्ताकै विषयमा छलफल गरेको स्रोत बताउँछ ।

असारमा निर्वाचन नहुने पक्का भएको परिस्थितिमा दाहाल र भट्टराईले निकट छिमेकी राष्ट्रका राजदूतसँग गोप्य छलफल गरेको स्रोत बताउँछ । बिप्पा, जलस्रोत, एयर पोर्ट व्यवस्थापन तथा भारतीयहरूलाई नागरिकता दिने र सीमामा विवादित क्षेत्रहरू तथा असामान सन्धिसम्झौताका बारेमा जनमत सङ्ग्रह गर्ने समेत विषयमा भारतको नजिकका साथी जस्तै बनेको बेला पनि सरकार छाडेपछि आफूहरू पूरै घेरामा परेको गुनासो उनीहरुले पोखेको स्रोतको दाबी छ ।

नेकपा–माओवादीले सडकको नेतृत्व गरिरहेको र गैरदलिय पक्षधरले सरकारको नेतृत्व लिइरहेको बेला एमाओवादीका हातमा केही पनि नहुनुले उनीहरूलाई अप्ठेरो परेको विश्लेषण समेत गरिएको छ । धादिङको धार्केमा भएको प्रशिक्षणमा यदि यही स्थितिमा चुनावमा जाँदा प्रायः सबै ठाउँमा हारिने हलबाट रिपोर्टिङ भएपछि उनीहरू यसबारे थप सोच्न बाध्य भएर दुतावाससम्म सोही साँझ पुगेको समेत जनाइएकोा छ । सधैं नेकपा–माओवादीका विरूद्ध आक्रमक रूपले प्रस्तुत हुने प्रचण्डले उक्त प्रशिक्षणमा भने निकै नै नरम रूप अपनाएको प्रशिक्षणका एक सहभागीले बताए ।

सरकारबाट बाहिरिएपछि आफ्नो पकड र स्थितिमा निकै कमी आएको रिपोर्टिङ आएपछि धार्केको प्रशिक्षण लगत्तै उनीहरू लैनचौरस्थित भारतीय राजदूतावासमा पुगेको बताइन्छ । पार्टीभित्र र बाहिर राजनीतिक सङ्कट परेको बेलामा प्रचण्ड र बाबुराम भारतीय राजदूतावासमा धाउने गरेको स्रोत बताउँछ ।