झुन्डिएको अवस्थामा गर्भवतीको शव फेला पर्यो
पाँचथर, चैत २६ - पाँचथरको प्राङबुङ गाउँ विकास समिति-८ स्थित एक अधवैँशे गर्भवती महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार प्राङबुङ-८ की ३९ वर्षीया बोली नआउने (लाटी) पकली मगरको शव घरनजिक झुन्डिएर मरेको अवस्थामा आइतबार साँझ फेला परेको हो। मृतकको शव शङ्कास्पद अवस्थामा फेला परेकोले अनुसन्धान जारी रहेको जनाइएको छ।
अविवाहित पकली गर्भवती भएको थाहा भएको प्रहरीले जनाएको छ। बच्चा जन्मिन नदिनका लागि उनलाई हत्या गरी झुन्डाएको हुन सक्ने भन्दै प्रहरीले स्थानीय केही व्यक्तिलाई अनुसन्धानका लागि निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरीक्षक दीपशम्शेर राणाले बताए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथर लगिँदै गरेको प्रहरीले जनाएको छ। रासस