फुटबलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं, चैत २१ - सुरुआती अग्रता जोगाउन नसक्दा मंगलबार सुरु एएफसी यु-१४ छनोट फुटबलमा नेपाली जुनियर राष्ट्रिय टोली अफगानिस्तानसँग २-१ ले पराजित भएको छ। दशरथ रंगशालामा मनीषबहादुर कार्कीको गोलमा नेपालले २५औं मिनेटमा अग्रता लियो।



अग्रता नेपाली टोलीले लामो समय जोगाउन सकेन। ३१औं मिनेटमा ओमिद हैदारले बराबरी गोल फर्काए। दोस्रो हाफको सुरुआतमै अफगानिस्तानले अग्रता लियो। ४७औं मिनेटमा मोहम्मद जाकीले गरेको गोल अफगानिस्तानको जितमा निर्णायक बन्यो।



रक्षापंक्तिले क्लियर गर्न नसकेको बल जोगाउन गोलकिपर सुजर थापा अगाडि बढेको फाइदा उठाउँदै मोहम्मदले खाली पोस्टमा गोल गरे। नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो हाफ राम्रो खेले पनि दोस्रो हाफमा त्यो प्रदर्शनलाई निरन्तरता दिन नसकेका कारण हार्नुपरेको बताए। उनले भने, 'प्रतियोगितामा पहिलो खेल सबैलाई महŒवपूर्ण हुन्छ। दुर्भाग्य अग्रता लिएर पनि जोगाउन सकेनौं। दोस्रो हाफमा आफगानिस्तानले हामीभन्दा राम्रो खेल्यो। अर्को खेलमा सुधार गर्नेछौं।' नेपालले दोस्रो खेल ताजकिस्तानसँग बिहीबार खेल्नेछ।



त्यसअघि एएफसी यु-१४ सी समूहको उद्घाटन खेलमा ताजकिस्तानले भुटानलाई ५-० ले पराजित गर्‍यो। दोस्रो मिनेटमा गोलको खाता खोलेको ताजिकस्तानले अन्तिम मिनेटसम्म गोल वर्षा जारी राख्यो। अजिमोभ सइद मुख्तारले ह्याटि्रक पुरा गरे।



विगतमा फुटबल फेस्टिबलमा हुँदै आएको यु-१४ यो वर्ष च्याम्पियनसिपमा आयोजना गरिएको छ। आठ समूह विजेताले यु-१४ च्याम्पियनसिपको अन्तिम चरणमा प्रवेश पाउने छन्।