चार वर्षको वनबासपछि, गोठसम्म कुष्ठरोगी

१६ वैशाख, बाजुरा । बाजुरा, १६ वैशाख । ‘चार छोरा र तीन छोरी अहि मेरा दुई बूढाबूढीको कबिला थिया,अहिले मलाइ समाजले हेला गरेको छ । तीन छोरा र मेरा लोग्नेको मृत्यु भयो, छोरीले बिहे गरेर गइन् र मेरा छिमेकीले कोडिएकी भेनेर गाउँ निकाला गरे र म चार वर्ष जङ्गलको ओडारमा बसेकी थिए ।’

आफ्नो पीडा गहभरि आँसु बगाउँदै बाजुरा जिल्ला गोत्री गाविस- ५ की ६५ वर्षीया रत्ना डँडालले सुनाइन् । १६ वर्षको उमेरमा विवाह गरी घरजाम भएकी डँडालको गर्भबाट सात बच्चाको जन्म भएको थियो । चार छोराको जन्म भएको केही समय बाँचेर मरेका कुरा उनले भक्कानो फुटाउने गरी रुँदै बताइन् । अनि तीन छोरीले बिहे गरी नातिनातिना भएका छन् ।

उनलाई ३० वर्षको समयदेखि कुष्ठरोग लागेको रहेछ । खुट्टाका औँला र हातका औँलाका कापामा सामान्य खटिरा आएजस्तो भएको थियो । पछि निको नहुने गरी पाक्न थालेपछि उनका छिमेकीले केरीनी भनेर गाउँ निकाला गरी सकेपछि गाउँमा बस्न नसक्ने अवस्था बनेका कारण उनी गाउँ नजिकैको कट्या खोलाको ओडारमा गएर चार वर्ष बिताएको दुखेसो उनले पोख्दै बताइन् ।

छोरीहरुले आˆनो आमाको दुःख देखेर चार वर्षपछि आफ्नो पाली घरमा ल्याएर राखेका छन् तर समाजको छीः छीः र दुरदुरका कारण उनीहरुले समेत घरभित्र ल्याउन नसकेका कारण गोठामा राखेको उनकी छोरी जर्मा भण्डारीले बताइन् ।

भण्डारीले भनिन् आफूले गाउँमा ल्याएपछि अस्पतालमा लिएर औषधि मुलो गरे केही समय नियमित औषधि खुवाए तर पछि औषधि पाइन् आमाको केही समय त सञ्चो लागेजस्तो भए तर अहिले फेरि सुरु भइसकेको छ ।

सोही गाविस-६ नाराकोट गाउँका उनका ज्वाइ दमलाल भण्डारीले खाना खुवाउन र पाल्न गाहृो भएको छ । कुटुम्बको घरमा रोगीलाई पाल्न गाहृो छ । समाजले समेत राम्रो व्यवहार गर्दैन कसरी पाल्नु, नपालौँ भने अरु साहारा कोही छैन । सरकारले सहयोग गरी दिएको भए सजिलो हुने थियो । तर कसैल हेरेको छैन ।

हात खुट्टाका औला पुरै झरी सकेकी डँडालको अवस्था हेर्दा दयनीय छ । तर नियमित र निःशुल्क खान पाउनुपर्ने कुष्ठरोगको औषधिसमेत नपाउँदा झन् दयनीय बन्दै गरेको, हिड्डुल गर्नसमेत समस्या आउने अवस्था सिर्जना हुन थालेको छ । समाजको छीः छीः र दुरदुरका कारण छिटो मरे हुने थियो भन्छिन् उनी ।

एकै गाविसमा दुई जना कुष्ठरोगी रहेको त्यस गाविसमा एक डँडाल हुन् भने अर्को दुवै हात गुमाइसकेका गोत्री गाविस वडा नं ३ का मनबहादुर बम रहेका छन् । दुवै कुष्ठरोगी रहेको जानकारी महती स्वास्थ्य चौकीका इन्चार्ज जीतेन्द्र यादवले दिनुभयो ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उनको कुनै जानकारी नभएको र अब खबर पाएका कारण उनको अवस्था हेरी सरकारले दिने सेवाका लागि पहल गरिने जिल्ला जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले बताउनुभयो । रासस